काठमाडौँ । कोभिड १९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।

‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।’

उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ।

‘कक्षा १० सम्म सञ्चालन भएका देशभरि ११ हजार ६ सय विद्यालय छन्। कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय छन्,’ सदस्य सचिव अर्यालले भने, ‘कक्षा १२ का धेरै विद्यार्थी भएकाले बोर्डले कक्षा १० र १२ सञ्चालन भएका सबै विद्यालयलाई परीक्षा केन्द्र बनाउने तयारी गरेको छ।’

गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।