झापा । बिर्तामोड नगरपालिकाभित्र रहेका विद्यालयले आगामी असोज ४ गतेदेखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड, विद्यार्थी सिकाई सहजीकरण कार्यढाँचा २०७७ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा पालना गरी विद्यालयहरुको भौतिकरुपमा प्रत्यक्ष पठनपाठन गराउन दिर्नेशन दिने निर्णय गरेको हो ।
बैठकले सामुदायिक विद्यालयहरुले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावक भेलाबाट स्वीकृत भएको अभिभावक सहयोग बाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै संस्थागत विद्यालयहरुले आफूले लिने शुल्क र अन्य आम्दानी र खर्चको सम्पूर्ण लेखा श्रेस्ता राखी खर्च र आम्दानीको विवरण तयार गरी सम्बन्धित संस्थाहरुसँग छलफल गर्ने गराउने निर्णय गरेको छ ।
बैठकले सबै विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरबाट स्वीकृत पाठ्यपुस्तक, सन्दर्भ सामग्री बाहेकका कुनै पनि सामग्रीहरु पठनपाठन नगराउन निर्देशन दिन पनि निर्णय गरेको छ ।
नगर शिक्षा समितिको बैठकले विद्यालयहरुमा प्रत्यक्ष सिकाई सञ्चालन शुरु भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाबाट अनुगमन गरी प्रतिवेदन पेश गर्ने समेत निर्णय गरेको छ ।
विद्यालयहरुमा कोभिड १९ को महामारीको कारण लामो समयदेखि प्रत्यक्षरुपमा हुने पठनपाठन ठप्प रहेको छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या घट्दै गएका कारण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउन लागिएको बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
बैठकमा नगरप्रमुख ध्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, शिक्षा शाखा प्रमुख तथा उपसचिव तिलचन भण्डारी, समितिका सदस्य गुरुभक्त न्यौपाने, कृष्णप्रसाद पाठक, युवराज कट्टेल, निता घतानी, द्रौपदी गणेश, संगीता सिवा, शाखा अधिकृत देवराज कार्की, दिनेशप्रसाद आचार्य र कर्मचारी मित्रलाल ओलीको उपस्थिति रहेको थियो ।