अर्जुनधारा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अर्जुनधाराको अध्यक्षमा पुनः रुद्रप्रसाद सिटौला निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न दोस्रो पालिका अधिवेशनबाट अध्यक्षमा सिटौला दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । दोस्रो अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेद्वारी परेपछि निर्वाचन भएको थियो ।
प्याब्सनका वर्तमान उपाध्यक्ष बालगोपाल गौतम अध्यक्ष पदका प्रत्यासी बनेपछि भएको निर्वाचनमा सिटौलाले १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका सदस्य सुमन शर्मा जम्मरकट्टेलका अनुसार अध्यक्ष पदका अर्का उम्मेद्ववार बालगोपाल गौतमलाई ८ मतले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचन भए पनि समितिको बाँकी पदाधिकारी तथा सदस्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सर्वसम्मतरुपमा प्याब्सनको उपाध्यक्षमा कुमार राय, सचिवमा राजेशकुमार आचार्य र कोषाध्यक्षमा राजन वाग्ले छन् । त्यसैगरी सदस्यहरुमा चन्द्रप्रसाद सुवेदी, ताराप्रसाद नेपाल र शान्ता गिरी चुनिएका छन् ।
त्यस्तै समितिको बाँकी दुई जना मनोनित सदस्यहरुमा प्रविन कार्की र विनित बाँस्तोलालाई मनोनयन गरिएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई समितिका संयोजक प्रभुकुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार महेन्द्र सँग्रौलाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बा, झापाका सहसचिव हरिकृष्ण पाठक, प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगाप्रसाद निरौला, टंक आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समितिका उपाध्यक्ष बालगोपाल गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।
उद्घाटन सत्रका वक्ताहरुले निजी विद्यालय सञ्चालनका क्रममा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका थिए । विद्यालयमा अंग्रेजी माध्यममात्र नभइ सकारात्मक सोचको विकाससँगै सिर्जनात्मक संस्कारयुक्त शिक्षा प्रदान गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।