शनिश्चरे । गुणस्तरीय शिक्षासँगै संस्कारयुक्त समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
बडादसैँ लगायतका चाडपर्वहरु दीपावली, नेपाल सम्वत् र छठ पर्वलाई लक्षित गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अर्जुनधाराले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका वक्ताहरुले त्यस्तो जोड दिएका हुन् ।
प्याब्सन मातहतमा रहेका २८ वटा विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउनका लागि आचारसंहिता लागु गर्न पनि वक्ताहरुले सुझाएका छन् । उनीहरुले प्राविद्यिक शिक्षा सञ्चालन गर्नुपर्ने, भूगोल र समाज आधारित पाठ्यक्रम तयार गर्नुपर्ने, अभिभावकको मनोविज्ञान बुझेर सन्तुष्ट हुने किसिमको शिक्षा प्रदान गर्नुपर्नेलगायतको विषयमा जोड दिए ।
प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याब्सन नेपालका केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका कोषाध्यक्ष छत्र कार्की, सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार टीकाराम गौतम, प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगाप्रसाद निरौला, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, क्रिएटिभ रिडर्स पब्लिकेशनका संस्थापक एडभाइजर मिक्की कार्कीलगायतले आफ्नो धारणासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अन्तरक्रियात्मक शुभकामना आदान प्रदान कार्यक्रमको रुपमा वक्ताहरुबाट आएको सुझावलाई आगामी दिनमा थप छलफल गरी कार्यान्वयन गराउने विषयमा सम्बन्धित निकायसँग पहल गर्ने अध्यक्ष सिटौलाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपाध्यक्ष कुमार रायले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।