काँकरभिट्टा । बालबालिकाको क्षमता अभिबृद्धिसम्बन्धी तीनदिने तालिम शुक्रबारबाट काँकरभिट्टामा सुरु भएको छ ।
नेपाल बहुउद्धेश्सीय सहकारी संस्थाको सभाकक्षमा सुरु तालिमको उद्घाटन मेचीनगर ६ नम्बरका वडा अध्यक्ष ललित तामाङले गरे। उद्घाटन सत्रमा प्रमुख अतिथि वडा अध्यक्ष तामाङ, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी थिङ् तामाङ, महिला नेतृ रचना घिमिरेलगायतले शुभकामना दिए ।
कार्यक्रममा बाल जागरण मञ्च नेपालका सल्लाहकार सदस्य अर्जुन राई, काँकरभिट्टा माविस्थित बाल क्लवका संरक्षक शिक्षक तुलसीप्रसाद सापकोटा, गंगा मेमोरियल अङ्ग्रेजी माविका प्रिन्सिपल केशरप्रसाद तिम्सिना, अरुणोदय अङ्ग्रेजी माविका शिक्षक मौसम पोखरेललगायतको आतिथ्यता थियो ।
आइतबार समापन हुने तालिमको पहिलो दिन आयोजक बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बूले बालअधिकार, बालअधिकारको धारणा र बाल मनोविज्ञानबारे सहजीकरण गरेको मञ्चका कोषाध्यक्ष विष्णु श्रेष्ठले बताए ।
मेचीनगर ६ नम्बर वडा कार्यालयले समन्वय गरेको तालिममा नाइट चेस क्लबका अनुगमन तथा मूल्याङ्कन अधिकृत गोविन्द न्यौपानेले बालमैत्री स्थानीय शासनबारे जानकारी गराएका थिए ।
मञ्चका सदस्य युवराज बजगाईंका अनुसार तालिममा मेचीनगर ६ मा सञ्चालित काँकरभिट्टा मावि, गंगा मेमोरियल अङ्ग्रेजी मावि र अरुणोदय अङ्ग्रेजी माविका कक्षा ७ देखि १० सम्म अध्ययनरत् ४२ जना विद्यार्थी सहभागी छन् ।
मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष अनिता गुरागाईं र सञ्चालन सदस्य भूमिका सुब्बाले गरेकी थिइन् ।