शनिश्चरे । नारी चेतना समूह अर्जुनधारा ८ ले एक प्राथमिक विद्यालयका छात्रछात्रालाई पोशाक वितरण गरेको छ । अर्जुनधारा ४ मा रहेको लक्ष्मी प्राविका ५१ जना छात्रछात्रालाई आइतबार विद्यालय पोशाक वितरण गरेको हो ।

 

संस्थाकी अध्यक्ष पम्फा विश्वकर्माले बर्सेनि सामाजिक कार्य गर्दै आएको बताउँदै यसैको निरन्तरतामा विद्यार्थीलाई पोशाक वितरण गरिएको बताइन् । ०६६ सालमा स्थापित संस्थाले वडा कार्यालयको सहयोगमा तानबाट ढाका बुन्ने तालिम प्रदान गर्दै आएको छ ।

 

प्रशिक्षार्थीले उत्पादन गरेको ढाकाका विभिन्न कपडाको विक्रीबाट आएको केही रकम सामाजिक कार्यमा खर्चिँदै आएको उनले बताइन् । ढाकाको कपडा उत्पादन गर्ने तालिमलाई नगरका अन्य वडामा विस्तार गर्ने संस्थाको योजना रहेको पनि सुनाइन् ।

 

अर्जुनधारा ४ का वडाध्यक्ष दुर्गा दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष विश्वकर्माले वडासँग सहकार्य गर्न तयार रहेको सुनाइन् । जनजाति समुदायका युवती ढाका बुन्न आकर्षित हुने गरेको बताउँदै उनले उत्पादित ढाकाको बजार संस्थाले व्यवस्थापन गर्दै आएको बताइन् ।

 

 

वडाध्यक्ष दाहालले आफ्नो वडाको विद्यालयलाई छनौट गरेकोमा संस्थालाई धन्यवाद दिए । सामाजिक कार्यका लागि सही विद्यालयलाई छनौट गरेको भन्दै वडाध्यक्ष दाहालले यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताए । उनले सामाजिक कार्यले संस्थाको उचाइ बढ्ने दाबी गरे ।

 

उक्त विद्यालयमा विपन्न र जनजाति समुदायका नानीहरु अध्ययन गर्ने भएकाले संस्थाको सहयोगले उनीहरुका अभिभावकलाई टेवा पुग्ने उनले बताए । उक्त विद्यालयमा ५१ जनाले कक्षा ५ सम्म अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।

 

संस्थाकी लेखा संयोजक पूर्णिमा सिटौलाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मिश्रकुमारी राईले स्वागतसहित औचित्यमाथि प्रकाश पारेकी थिइन् । सोही कार्यक्रममा समाजसेवी खेम काफ्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

 

संस्थाले सामाजिक कार्यअन्तर्गत स्वास्थ्य शिविर, हिंसामा परेका बालिकाको उद्दार, उपचार उद्घोषण तालिमलगायतका कार्य गर्दै आएको संस्थाले जनाएको छ ।