बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेशस्तरीय सूर्योदय क्विज सिजन ६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खाँदबारी क्विज च्याम्पियन बनेको हो ।

 

सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबीच टाइबे्रकरपछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको हो । सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईँको रहेको थियो ।

 

प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोश्रो, दमकको मोडल क्याम्पस तेश्रो भएका छन् । फाइनलमा कनकाई मल्टिपल कलेज सुरुंगा झापा र इटहरीको कोशी सेन्टजेम्स पनि पुगेका थिए ।

 

फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८ः३० बजे प्रसारण भएको थियो । लिग राउण्ड, सेमिफाइनल राउण्ड हँुदै प्रदेश १ का एक सयभन्दा बढी विद्यालय तथा कलेजबाट ५ उत्कृष्टले फाइनलसम्मको यात्रा तय गरेका थिए ।

 

पहिलो, दोस्रो र तेश्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । सूर्योदय टेलिभिजनका अध्यक्ष उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, मेनेजर आशिष उप्रेतीले संयुक्तरुपमा पुरुस्कार वितरण गरेका थिए ।

 

प्रतियोगिताको निर्णायकमा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती र प्रस्तोता प्रेमसागर घिमिरे थिए । फाइनल कार्यक्रममा द भ्वाइस अफ किड्सकी उपविजेता अनुजा कडरिया र गायक रमेशजंग कडरियाको प्रस्तुतिले बेग्लै रौनक थपेको थियो ।

 

सूर्योदय टेलिभिजनका कर्पाेरेट डिरेक्टर यम विमलीले सञ्चालन गरेको कार्यक्रममा सिम्रिक साकोसका कमल बस्नेत, हिमालय पार्टी प्यालेसका सञ्चालक देवीप्रसाद संग्रौला, इन्टरनेट सेवा प्रदायक संस्था ब्रोडलिङ्कका बजार व्यवस्थापक सन्तोष कार्की, डोएन टिभीका प्रबन्ध निर्देशक कृष्णप्रसाद खरेललगायतको उपस्थिति रहको थियो ।