शनिश्चरे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अर्जुनधारा नगर समितिद्वारा सङ्गठनका तत्कालिन नगर अध्यक्ष रामकुमार अछामीको स्मृतिमा स्थापित रामकुमार अछामी स्मृति अक्षयकोषबाट आज अर्जुनधाराका शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीहरु सम्मानित भएका छन् ।

 

२०७५ चैत्र ९ गते काठमाडौंबाट झापा फर्कने क्रममा मोरङको कानेपोखरी जङ्गलमा सडक दुर्घटनामा परी निधन भएका अर्जुनधारा १ स्थित गणेश आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्यापक अछामीको नामबाट स्थापित सो कोषले आज विद्यालयमै आयोजना गरेको कार्यक्रममा एक दर्जन व्यक्तिहरु सम्मानित भएका हुन् ।

 

सम्मानित हुनेहरुमा उत्कृष्ट शिक्षकका रुपमा कालिस्थान माविकी शिक्षक रेखा तिम्सिना, जनता माविका शिक्षक नारायणकुमार तुम्बाहाम्फे र उत्कृष्ट कर्मचारी अर्जुनधारा माविका दीपक निरौला रहेका छन् । यसैगरी कक्षा ८ को नगरस्तरीय परीक्षामा उत्कृष्ट विद्यार्थीहरु गणेश आधारभूत विद्यालयका आयुशा एक्तेन र स्मारिका नेपाल, कक्षा १२ को परीक्षामा नगरभरिकै उत्कृष्ट विद्यार्थी भानु माविका ओम विश्वकर्मालाई नगद जनही ३ हजार रुपैयाँसहित प्रशंसा पत्रद्वारा सम्मानित गरिएको थियो ।

 

अक्षयकोष स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने नगेन्द्रप्रकाश खनाल, खड्ग तामाङ, चन्द्रमोहन उप्रेती र युवराज डाँगीलाई समेत मायाको चिनोद्वारा सम्मानित गरिएको थियो । संगठनका नगर अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अर्जुनधाराका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मी, सङ्गठनका झापा उपाध्यक्ष पुण्य सुवेदी लगायतले स्वर्गीय रामकुमार अछामीको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए ।

 

स्वर्गीय अछामीका पिता हर्कबहादुर अछामी र धर्मपत्नी कुमारी विशुङ्खेलाई समेत सम्मान गरिएको कार्यक्रमको सञ्चालन सङ्गठनका नगर सचिव दीपक भण्डारीले गरेका थिए भने स्वागत गणेश आविका प्रधानाध्यापक लोकनाथ दाहालले गरेका थिए ।