अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कूलमा विद्यालय व्यवस्थापन समिति निर्माण भएको छ । शिक्षा शाखाले यसअघि अध्यक्षमा यज्ञलाल श्रेष्ठलाई स्वीकृति प्रदान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले अभिभावकतर्फ दुई जना सदस्यमा प्रमिला मगर र रमेशकुमार राईलाई मनोनयन गरेपछि उक्त समितिले पूर्णता पाएको हो ।
शिक्षा नियमावली २०५९ बमोजिम गठन भएको समितिका अन्य सदस्यमा वडा समितिबाट हरिबहादुर कटुवाल, नगर शिक्षा, खेलकुद विकास शाखाबाट अधिकृत सुनिता भट्टराई, शिक्षक प्रतिनिधि मीना लुँइटेल र सदस्य सचिवमा प्रधानाध्यापक प्रभुकुमार श्रेष्ठ रहेका छन् ।

यसैबीच सोही दिन नै पूर्णता पाएको विद्यालय व्यवस्थापन समितिलाई बधाई ज्ञापन गरिएको छ । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडालगायतले बधाई मन्तव्य राखेका थिए । विद्यालयकी संयोजक नम्रता गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक नारायण पोखरेलले गरेका थिए ।