अर्जुनधारा । निजी तथा आवासीय विद्यालय संगठन (प्याव्सन) अर्जुनधाराअन्तर्गत रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीबीच अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गरिएको छ ।

 

यससँगै कोभिड १९ का कारण दुई वर्षदेखि स्थगित भएको प्याब्सनको गतिविधि यस वर्षबाट सुरु भएको छ । प्याब्सन झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा बिहीबार अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अर्जुनधारामा सुरु भएको हो ।

 

अर्जुनधारा ११ स्थित होलिका अङग्रेजी आवासीय विद्यालयको प्राङ्गणमा प्याब्सन नगरका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन वडाध्यक्ष खगेन्द्र इङनामले गरेका थिए ।

 

प्याब्सनका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक कुमार रायाका अनुसार प्रतियोगिता अन्तरगत प्राथमिकतर्फ हाजिरी जवाफ र चित्रकला, निम्न माध्यमिकतर्फ हाजिरी जवाफ, श्रुतिलेखन, निबन्ध र चित्रकला तथा माध्यमिकतर्फ निबन्ध, वक्तृत्वकला र कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ ।

 

कविता वाचनतर्फ रुपेश बस्नेत र हरिनारायण भट्टराई तथा वक्तृत्वकलातर्फ प्रकाश पराजुली र सुवर्ण भट्टराई निर्णायक रहेका छन् । कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, उपाध्यक्ष टीआर गौतम, सदस्य सुमन शर्मा जम्मरकट्टेललगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतियोगितामा २९ वटा विद्यालयका २५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगिताको समापन र पुरस्कार वितरण कार्यक्रम ब्रिलियन्ट एजुकेशन फाउण्डेशनमा हुने बताइएको छ । उपाध्यक्ष रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।