अर्जुनधारा । झापाको अर्जुनधारा नगर क्षेत्रमा रहेका पुराना सामुदायिधक विद्यालयमध्येको महारानीगञ्ज माध्यमिक विद्यालयले स्मारिका प्रकाशन गरेको छ । अर्जुनधारा ११ मा रहेकाे विद्यालयले सोमबार एक कार्यक्रम गरी स्मारिकाको बिमोचन गर्यो ।
बडा दसैँको शुभकामना आदानप्रदानसहितको कार्यक्रममा नगरका प्रमुख बलदेव सिंह गोम्देनलगायत शिक्षक, साहित्यकारले संयुक्तरुपमा उक्त स्मारिकाको विमोचन गरेका थिए । २०१५ सालमा स्थापित विद्यालयले लिखित दस्तावेजको रुपमा स्मारिका प्रकाशन गरेको हो ।
स्मारिकाको समिक्षा साहित्यकार कृष्ण बराल र जगतबहादुर मगरले गरेका थिए । कार्यक्रममा साहित्यकार केशव आचार्य, पुन्य खरेल, मायामितु न्यौपाने, अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता राईलगायतले आफ्ना भनाइ राखेका थिए । नगरकी प्रप्रअ राई सोही विद्यालयकी छात्राहुँदै केही समय शिक्षण पनि गरेकी थिइन् ।
स्मारिकाको सम्पादक पूर्व प्रधानाध्यापक हस्त परियार रहेका छन् भने सह सम्पादक लवकुश गौतम, सदस्यहरु लीलाधर चौलागाईं, पुण्य सुवेदी, भगवती कोइराला, सूर्यप्रसाद सापकोटा ,रोहितकुमार भट्टराई रहेका छन् । कार्यक्रममा विद्यार्थीहरुले रोचक नृत्यहरु प्रस्तुत गरेका थिए भने सम्पादक मण्डललाई सम्मानसमेत गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षता सञ्चालित कार्यक्रममा स्वागत प्रधानाध्यापक मनकुमार लिम्बू र सहजीकरण सहायक प्रध्यानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।
स्मारिकामा लेखक तथा साहित्यकार, शिक्षक एवम् विद्यार्थीका रचनासहित विद्यालयको सम्पूर्ण दस्तावेज समावेश गरिएको छ । विद्यालयले भोगचलन गर्दै आएको सम्पत्ति, दाताहरुको विवरण, अहिलेसम्मका प्रधानाध्यापकहरु, व्यवस्थापन समितिलगायतको विवरण स्मारिकामा समेटिएको प्रअ लिम्बूले बताए ।