झापा– शिक्षिकाको कुटाईबाट पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ ।
झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्डिङ स्कुलमा अध्ययनरत बालिकाको कानको जाली फुटेको हो । उनी कक्षा १ मा अध्ययनरत छन् । सोमबार विद्यालय छुट्टी हुने बेलामा छोरीले कुटाइ खाएको र सोही कुटाईले कानको जाली फुटेको उनकी आमा दुर्गा राईले आरोप लगाएकी छन् ।
घटनाका बारेमा जानकारी दिँदै दुर्गाले भनिन्, ‘सोमबार घर आउने बेलामा मिसले कुट्नुभएको रहेछ । स्कुलको गाडीमा नानीलाई घरमै ल्याइदिएको थियो । राति नानीले कान दुख्यो भन्दा मैले वास्ता गरिनँ । गलेको रहेछु, निदाएँ । बिहान हेर्दा नानीको कानबाट रगत बगिरहेको थियो ।’
कान दुखेकै पीरले मंगलबार नानीले स्कुल जान नमानेको उनले बताइन् । ‘मैले जानुपर्छ भनेपछि उसको बाजेलाई आज नजाने भनिछ । अनि नानीलाई सोद्धा कान दुखेको बताइन । तयार बनाएर स्कुल बसमा लगेर सिस्टरलाई भनेको विद्यालय आएर आफैं भन्नुहोस भन्नुभयो । अनि विद्यालय गएँ। मेरै नानीको विषयमा कुरा भइरहेको रहेछ । तर, नानी चाहीँ कक्षामा एकोहोरो भएर बसेकी थिइन ।’
स्कुलका शिक्षकशिक्षिकाले सामान्य घाउ भएको वा लडेको भने पनि नानीले मिन्थुना मिसले चार झापट हान्दा कानै ‘चटक्क’ गरेको बताएपछि जाँच गर्न लैजान विद्यालय राजी भएको दुर्गाले बताइन् ।
विद्यालयले चेकअप गर्ने ठाउँमा पनि डाक्टरलाई पहिल्यै भनेकोले हिमाल फार्मेसीका डाक्टर ज्ञानेन्द्र शाहले सामान्य घाउ पाकेर रगत आएको बताएका थिए । शाहको भनाई उदृत गर्दै दुर्गाले भनिन्, ‘केही भएको छैन । औषधि लगाएपछि ठीक हुन्छ भन्नुभयो । मैले अलि सोधखोज गरेपछि इन्डोसकोपी गरेर हेर्दा कानको जाली फुटेको पाइयो । विद्यालय र फार्मेसीले सामान्य औषधि गर्दा हुन्छ भने पनि आफूले जिद्दी गरेपछि यहाँ यसको उपचार नहुने भनेर अहिले विराटनगर लिएर जाँदैछु ।’
विद्यालयले घटनालाई ढाकछोप गर्न खोजेको उनले आरोप लगाइन । उनले नानीको नियमित चेकजाँच गर्ने गरेको र कुनै समस्या नरहेको बताएकी छन् । नानीको बुबा वैदेशिक रोजगारीका क्रममा कतार रहेको भन्दै उनले नानीको शिक्षा र स्वास्थ्यमा विशेष ख्याल गर्नु भन्ने गरेको पनि सुनाइन् । तर, विद्यालयमै कुटाइ खाएर कानको जाली फुट्दा आफूलाई असह्य भएको उनको भनाई छ ।
विद्यालय प्रशासनले भने शिक्षिकाले विद्यार्थीलाई कुटेको भए पनि कुटाईकै कारण जाली फुटेको हो कि होइन भन्ने टुंगो नभएको जनाएको छ । अभिभावकको गुनासो अनुसार आफूहरुले बेवास्ता नगरेको विद्यालयका प्रिन्सिपल लय खनालले दाबी गरे । उनले भने, ‘हामीबाट केही कमजोरी त भयो । तर, दमकमा चेक गर्दा अलि कन्फ्युज भयो । यसको थप उपचारका लागि बिराटनगर जाँदैछौं । यहाँ चेकजाँच गरेपछि थाहा हुनेछ ।’