लक्ष्मीपुर । अर्जुनधारा नगरपालिकास्तरीय गायन तथा नृत्यु प्रतियोगितामा स्वस्तिका शिशु सदन, रोज बर्ड इङलिस स्कुल र नृत्यतर्फ रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएका छन् ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याव्सन) झापाको आयोजना तथा प्याव्सन अर्जुनधाराको संयोजनमा शुक्रबारदेखि प्रतियोगितामा दोस्रो दिन शनिबार सिनियर र जुनियर सिंगिङ र जुनयिर मोडर्न डान्सको प्रतियोगिता भएको थियो ।
जसमा स्वस्तिकाले सिनियरतर्फ र रोज बर्डले जुनियरतर्फ प्रथम स्थान हासिल गरे भने जुनियर मोडर्न डान्सतर्फ रुपरत्न प्रथम बन्यो । यस्तै, सिनियरतर्फ प्रगति बोर्डिङ स्कुल दोस्रो हुँदा रुपरत्नले तेस्रो स्थान बनाएको छ ।
यस्तै, जुनियर सिगिंङतर्फ ब्रिलियन्ट पुपिल एजुकेशन फाउण्डेशन दोस्रो र सूर्यज्योति इङलिस बोर्डिङ स्कुल तेस्रो भए । यसैगरी जुनियर मोडर्न डान्सतर्फ होलिका इङलिस बोर्डिङ स्कुल दोस्रो र ब्रिलियन्ट पुपिल एजुकेशन फाउण्डेशनले तेस्रो स्थान बनायो ।
शुक्रबार भएको उद्घाटनको क्रममा सम्पन्न दुई विधाका नृत्यतर्फ एम्स एकाडेमी र कालिका शिशु सदनका विद्यार्थी प्रथम भए । राष्ट्रिय नृत्यतर्फ कालिका शिशु सदन प्रथम भयो भने हिमाली एजुकेशन फाउण्डेशन दोस्रो र रुपरत्न मेमोरियल बोर्डिङ स्कुल तेस्रो भएका थिए ।
यस्तै, सांस्कृतिक नृत्यतर्फ एम्स एकाडेमी प्रथम हुँदा स्वस्तिका शिशु सदन दोस्रो र रुपरत्न मेमोरियलका विद्यार्थीको नृत्य तेस्रो भएको थियो । ६ विधाको प्रतियोगितामा सबैभन्दा बढी रुपरत्नले एक स्थानमा पहिलोसँगै ५ विधामा पुरस्कार जितेको छ । उसले जुनियर मोडर्न डान्समा प्रथम स्थान पाउँदा अन्य विधामा तेस्रो स्थान ल्याएको छ । जुनियर सिंगिङमा मात्र पुरस्कृत हुन सकेन ।
प्याव्सन अर्जुनधाराका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार रायाका अनुसार छ विधामा प्रथम हुने विद्यालयका विद्यार्थीले पुस २३ र २४ गते हुने प्याव्सन डेमा सहभागिता जनाउने छन् ।