शनिश्चरे । अर्जुनधारा नगरपालिकाका ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बालबालिका तथा विद्यार्थीलाई सूर्तीजन्य र मादक पदार्थजन्य कुनै पनि सामग्री व्यापारीले बिक्री गर्न नहुने बताएका छन् ।
अर्जुनधारा ८ मा रहेको स्वस्तिका शिशु सदन माध्यमिक अंग्रेजी विद्यालयको ३८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले अभिभावक, व्यवसायीबीच वडा कार्यालयले छलफल राखेर अघि बढ्ने बताएका हुन् । उनले वडाको छलफलपछि पनि ससाना बालबालिकालाई चुरोट, खैनी, मादक पदार्थ बिक्री गरेको खण्डमा व्यवसायीलाई कार्बाही गरिने सुनाए ।
यस्तै, आफ्ना वडामा रहेका निजी तथा सामुदायिक विद्यालयले विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षणका लागि वडा कार्यालय तयार रहेको बताउँदै उनले समन्वयका लागि आग्रह गरे ।
सोमबार आयोजित वार्षिकोत्सवको उद्घाटन वडाध्यक्ष उप्रेतीले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा विद्यार्थीलाई घोकन्ते विद्याभन्दा पनि व्यावहारिक र व्यावसायिक शिक्षामा जोड दिन विद्यालय सञ्चालकलाई आग्रह गरे ।
अर्जुनधारा क्षेत्रकै जेठो निजी विद्यालयको परिचय बनाएको स्वस्तिका शिशु सदनले विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । विद्यालयका पूर्व विद्यार्थी तथा नेपाली सेनाका मेजर अभिषेक विष्टलाई सेनाको उच्च स्थानमा पुग्न सफल भएको भन्दै सम्मान गरेको थियो ।
उनीसँगै उत्कृष्ट अभिभावक, २०७८ सालको एसईईका उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरिएको विद्यालयका संस्थापक इश्वरी श्रेष्ठले जानकारी दिइन् । उत्कृष्ट अभिभावकमा सुरेश विष्टलाई सम्मान गरिएको छ । समय–समयमा विद्यालय आएर अनुगमनसँगै सकारात्मक सल्लाह सुझाव दिँदै आएका उनलाई उत्कृष्ट अभिभावको रुपमा सम्मान गरेको बताइएको छ ।
त्यस्तै ०७८ सालको एसईईमा विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याउने निवेदिता ओझा र प्रतिक बराल र विद्यालयका संगीत शिक्षक सन्तोष आलेलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
विद्यालयका एनसीसी ४८औं ब्याच जुनियर डिभिजनले खुकुरी ड्रिल र विद्यार्थीहरुद्वारा ‘रातो र चन्द्र सूर्य’ बोलको राष्ट्रिय भावले ओतप्रोत भएको गीत प्रस्तुत गर्दै सुरु भएको कार्यक्रममा विद्यालयका गतिविधिहरुलाई समेट्दै स्वस्तिका बुलेटिन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा प्याव्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, अभिभाव संघ अध्यक्ष दिपीन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा खिमराज दाहालले अभिभावक तथा विद्यार्थीहरुका बीच मोटिभेसनल मन्तव्य प्रस्तुत गरेका थिए ।

विद्यालयका सहायक प्रअ इन्द्र ढुंगानाले विद्यालयको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा शिक्षासेवी लोकनाथ पौडेल, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राई, हिमाली बोर्डिङ स्कुलकी शान्ता गिरी, शनिश्चरे प्रहरी चौकीका प्रमुख कुमार ढकाल लगायतको आतिथ्य रहेको थियो ।
विद्यालयका संयोजक तथा शिक्षक चन्द्रप्रसाद सुवेदी, विद्यार्थीद्वय रिसर्च कोइराला र प्रशंसा घिमिरेले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत सहसंयोजक केशवमणि ढकालले गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक श्रेष्ठले गरेकी थिइन् ।