बिर्तामोड। विपक्षको पक्षमा उच्च अदालतले फैसला सुनाएपछि झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालय जमिनविहीन भएको छ ।

भूपालमानसिंह कार्कीले ११ कठ्ठा जग्गा दान दिएपछि २०२४ सालमा सो विद्यालय स्थापना भएको थियो । तर, दाता परिवारका तर्फबाट २०७० सालमा जिल्ला अदालत झापामा मुद्दा दायर भएपछि विद्यालयले मुद्दा खेप्दै आएको थियो । तर, दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि त्यहाँ अध्ययनरत् बिद्यार्थीको भविष्य अन्यौलमा परेको हो ।

जिल्ला अदालतले दाताकै पक्षमा र उच्च अदालतले पनि दाता परिवारकै पक्षमा फैसला गरेकाले अहिले मोहनमाया मावि जमिनविहीन बनेको हो । मोहनमायाको नाममा अब पूर्व–पश्चिम राजमार्गले छोएको विद्यालय भवनको दक्षिणतर्फ १० धुरमात्रै जमिन छ । जुन जमिनमा बिद्यालयले कम्पाउण्ड बाल लगाएको छ ।

मोहनमाया मावि प्रदेश नम्वर १कै नमूना विद्यालय मध्येमा पर्छ । बिर्तामोड नगरपालिका–२ रामचौकमा रहेको उक्त विद्यालयमा ९ सय ५० विद्यार्थी अध्ययनरत् छन् । सो विद्यालयमा कक्षा ४, ५ र ६ बाहेक अन्य सबै कक्षा अंग्रेजी माध्यममा पठनपाठन हुन्छ ।

दुईवटा सुस्तश्रवण (समाहित) कक्षा, तीन वटा बालविकास केन्द्रसमेत सञ्चालनमा रहेको सो विद्यालयको भौतिक संरचना पनि अन्य विद्यालय सरह नै छ । यस वर्षदेखि प्राविधिक धारका कक्षा समेत सञ्चालनको अनुमति पाएको उक्त विद्यालयले दाताकै भरमा करौडौं रुपैयाँको भौतिक संरचना समेत तयार गरेको छ ।

दाताले दिएको जमिनमा विद्यालय निर्माण गरिएको र दाताकै सन्तानले विद्यालयलाई नै मुद्दा हालेपछि विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको भन्दै राष्ट्रिय सभाका सांसद हरिचरण शिवाकोटीले राष्ट्रिय सभामा बोलेका थिए ।

‘रिक्सा-ठेला चालकका छोराछोरीले पढ्ने बिद्यालयको विपक्षमा अदालतको फैसला आएको छ’, सांसद शिवाकोटीले राष्ट्रियसभामा बोल्दै भने- ‘बिद्यालय भत्किएपछि कहाँ पढ्ने भन्ने चिन्ता विद्यार्थीहरूमा पनि देखिन्छ ।’

भूपालमानसिंह तत्कालीन राजसभाका सभापति एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीका बुबा हुन् । बाबुले दान दिएको जग्गा फिर्ता माग्दै छोरा जगतबन्धु र बुहारी अञ्जु कार्कीले अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला र उच्च अदालत बिराटनगरले कार्की परिवारको पक्षमा फैसला गरेपछि विद्यालयको भविष्य अन्यौलमा परेको सम्बद्धहरू बताउँछन् ।

भूपालमानसिंह कार्कीले आफूले किनेको नभई राजा महेन्द्रले हुकुम प्रमांगीबाट प्राप्त जग्गा विद्यालयलाई दान दिएका थिए ।

सांसद शिवाकोटी जग्गाको मूल्य बढेपछि भूमाफियासँग मिलेर कार्की परिवारले मुद्दा दायर गरेको बताउँछन् । राष्ट्रिय सभा बैठकमा बोल्दै शिवाकोटीले सरकारले मुआब्जा दिएर हुन्छ कि के गरेर हुन्छ विद्यालय बचाउनुप¥यो, बिद्यार्थीको भविष्य बर्बाद पार्नु भएन भन्दै आवाज उठाएका थिए ।

विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी आफूहरूले सम्बन्धित परिवारलाई भेटेर बिद्यार्थीको भविष्य संकटमा नपार्न पटक–पटक आग्रह गरेको बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जग्गा दान दिएको सम्पूर्ण प्रमाण हुँदाहुँदै विद्यालय बचाउन गाह्रो परेको बताए । उनले भने, ‘हाम्रो मुख्य चुनौति भनेको पटक-पटक उत्कृष्ट नतिजा दिइरहेको विद्यालय कसरी जोगाउने भन्ने हो ।’

यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीले दाता परिवारलाई पटक-पटक सम्झाए पनि उनीहरुले आफ्नो अडान नछाडेपछि विद्यालय र बिद्यार्थीको भविष्य नै अन्यौलमा परेको बताउँछन् । उनी भन्छन्- ‘हाम्रो एक्लो प्रयासले मात्रै भएन अहिले हामीले स्थानीय सरकारलाई पनि गुहारेका छौं तर हाम्रो माग कसैले सुनेन ।’

विद्यालयको पक्षमा उच्च अदालतले पनि फैसला नगरेपछि अहिले मोहनमायाले सर्वोच्चको ढोका रोजेको छ- ‘विद्यालयका पीटीए अध्यक्ष देवी गिरी भन्छन्- ‘हामीले दाता परिवारलाई अनुनय-विनय गर्दै दान गरेको सम्पत्तिलाई दुरुपयोग नगरिदिन आग्रह ग¥यौं तर उहाँहरुले हाम्रो कुरा नसुनेपछि सर्वोच्चको ढोकासम्म पुग्नु परेको हो ।’

यसअघि विद्यालय परिवारले विद्यालयको जग्गा जोगाईदिन र विद्यार्थीको भविष्य अन्यौलमा नपारिदिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएका थिए ।

साविक चारपाने गाविसको केन्द्र न. ३ स्थित कारुवाभिट्टामा विद्यालय स्थापना गरिए पनि भूपालमानले नै रामचौकमा जमिन प्रदान गरेपछि विद्यालय कारुवाभिट्टाबाट रामचौक सारिएको विद्यालयका सहायक प्रधानाध्यापक भवानी राजवंशीले बताए ।

उनले भने- ‘त्यो बेला जमिनको मूल्यांकन नै कम थियो, भूपालमानले प्रदान गरेको जमिनमा पञ्चकन्या उद्योग समूहका अध्यक्ष तथा शिक्षासेवी प्रेमबहादुर श्रेष्ठले आफ्नी आमाको नाममा विद्यालयको भवन निर्माण गरिदिनुभएको थियो ।’

तत्कालीन समयमा झण्डै रु. ७५ हजार खर्चेर श्रेष्ठले भवन निर्माण गरेपछि उनकै आमाको नामबाट विद्यालयको नामकरण गरिएको बताइन्छ ।

सन्ठीको बेरा र फूसले छाएर बनाइएको झुपडीबाट पठनपाठन शुरु भएको विद्यालयको अहिले एकतले सातबटा र तीन तले एउटा गरी आठ वटा भवनमा तीसवटा कोठा छन् । तीमध्ये केही कोठा जीर्ण अवस्थामा रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजवंशीले बताए ।

२०५३ बाट निम्न माध्यमिक तहको पठनपाठन शुरु गरेको मोहनमायाले २०६८ सालबाट माध्यमिक तहको कक्षा शुरु गरेको हो । उक्त बिद्यालय सामुदायिक विद्यालयतर्फ २०६९ देखि २०७१ सालसम्म प्रवेशिका परीक्षा (एसएलसी) मा लगातार तीन वर्ष जिल्ला प्रथम भएको थियो । पूर्वाञ्चल दैनिकमा खबर छ ।