झापा । अर्पण गिरीले निर्देशन गरेको चलचित्र वानर सेना प्रदर्शनको पर्खाइमा रहेको छ । रामायण बेसमा आधारित यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको हो । रामायणमा हालसम्म नखुलाइएका विषयलाई कथाबस्तु बनाएर तयार परिएको यो चलचित्र रामायण बेसमा आधारित मोडर्न चलचित्र हो ।
क्यानडाको विनिवेगमा बसेर चलचित्रसम्बन्धी अध्ययन गर्दै चलचित्र निर्माणका लागि मात्रै तीन वर्ष रिसर्च गरेका अर्पणले रामायण बेसमा यो चलचित्र तयार पारेका हुन् । यो चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् । चलचित्र निर्देशनसँगै अर्पणले फिल्म क्षेत्रमा ‘डेब्यू’ गर्न लागेका छन् । यो चलचित्रमा नायकको भूमिकामा आफैं देखापर्ने अर्पणले नायिकाको रुपमा आर्जु प्रसाईलाई समेत डेब्यू गराउन लागेका छन् ।
रामायण बेसमा पहिलो नेपाली कथानक चलचित्रका रुपमा वानर सेनालाई उभ्याइएको निर्माण पक्षको दाबी छ । यो चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका छन् । चलचित्र निर्माणकर्ता युवराज निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् ।
रामानन्द सागरले लेखेको रामायणमा देखाइएको जस्तो कथावस्तु यो चलचित्रमा नरहने र रामायणमा लुकेका पक्षलाई समेटेर चलचित्र तयार गरिएको निर्माता युवराजको दाबी छ । यो चलचित्रमा रामायणमा जस्तो राम, लक्ष्मण, सीता, हनुमानको क्यारेक्टर नहुने र मोडर्न जमानालाई प्रतिनिधित्व गर्दै चलचित्र तयार गरिएको निर्माण पक्षको दाबी छ ।
रामायणमा राम्रो कर्म गर्नेलाई मर्यादा पुरुषोत्तमका रुपमा रामलाई हेरिने गरिएको र खराब प्रवृत्ति भएकालाई रावणको भूमिकामा हेरिएजस्तै यो चलचित्रमा पनि राम र रावणको भूमिकालाई प्रतिनिधित्व गर्ने गरी पात्र चयन गरिएको र उनीहरुलाई सोहीअनुसारको भूमिका प्रदान गरिएको निर्माता गिरीले बताए । उनले भने, रामायणकालीन समयको जस्तो यो चलचित्र छैन तर राम र रावणको क्यारेक्टरलाई जनाउन खोजिएको छ ।
चलचित्र छायाङ्कनका लागि लंकाको जस्तै परिवेश देखिने स्थानलाई चयन गरिएको र नेपालको श्रीलङ्काका नामले परिचित कोसीको टप्पुमा चलचित्र छायाङ्कन गरिएको बताइएको छ । चलचित्र चक्रघट्टी, रामधुनी, राजावास, जनकपुर, उदयपुर, कोसी लगायतका क्षेत्रमा छायङ्कन गरिएको छ ।
चलचित्रमा चार वटा गीतलाई समावेश गरिएको र गीतमा समेत हरेक पक्षलाई समेटिएको निर्देशक गिरीको दाबी छ । झट्ट सुन्दा यो चलचित्र ऐतिहासिक, धार्मिक तथा पौराणिकजस्तो सुनिए पनि यो चलचित्र विशुद्ध सन्देशमुलक र पारिवारिक रहेको बताइएको छ । यो चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाली चलचित्र क्षेत्रको विकासमा इँटा थप्दै राम्रा चलचित्र निर्माण गर्नसके चलचित्र दर्शकको रोजाइमा पर्ने दाबीसहित यो चलचित्र निर्माण गरिएको निर्माण पक्षको दाबी छ । यो चलचित्र आगामी असोजसम्ममा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।