शनिश्चरे । अर्जुनधारा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी लक्षित पोषण सम्वेदनशील कार्यक्रमअन्तर्गत एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

 

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक सञ्जीव लामा घिसिङले सहजीकरण गरेका थिए ।

 

शरीरलाई चाहिने भन्दा बढी र आवश्यकभन्दा कमी खाना खाँदा पनि कुपोषण हुने भन्दै उनले विशेष गरेर बच्चालाई खानामा ८ किसिमका खानेकुरा र हरेक बार चार प्रकारका खाना आवश्यक रहेको सुनाए ।

 

पोषणयुक्त खानाको अभावमा पुड्कोपन, उचाइअनुसार तौल नहुने ख्याउटेपन, उमेरअनुसार तौल नहुने कम तौलका बच्चाहरु हुने गरेको तथ्यांक उनले प्रस्तुत गरेका थिए । सन्तुलित पोषणले बाल तथा मातृ मृत्युदरमा पनि कमी आउने उनको भनाइ छ ।

 

मानिसको स्वास्थ्यले २० प्रतिशतमात्र कुपोषणलाई सुधार गर्ने बताउँदै उनले बाँकी मानिसले आफ्नो खानेकुरामा ध्यान दिनुपर्ने खाँचो औँल्याए । नेपालमा कुपोषण हटाउने लक्ष्यदर क्रमिकरुपले सुुधार भइरहे पनि अपेक्षित नतिजा पाउन नसकिएको बताइएको छ ।

 

विशेष गरेर नगरको स्वास्थ्य, कृषि, महिला तथा बालबालिका र शिक्षा शाखाले आफ्ना योजना तर्जुमा गर्दा कुपोषण न्यूनीकरणमा ध्यान दिँदै पोषणसम्बन्धी कार्यक्रम ल्याउनुपर्ने उनको आग्रह थियो ।

 

कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी गरी ८० जनाभन्दा बढीको सहभागिता रहेको नगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ ।