अर्जुनधारा । झापा अर्जुनधारा वडा नम्बर ५ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी पाँचदिने ह्याण्ड राइटिङ (हस्त लेखन) तालिम आइतबारदेखि सुरु गरिएको छ ।

 

वडा कार्यालयको आर्थिक सहयोग तथा अर्जुनधारा जेसीजको आयोजनामा भएको तालिमको उद्घाटन ५ नम्बर वडाध्यक्ष गीताराज खड्काले एक कार्यक्रमका बीच गरे । उनले वडाको बजेटबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिन सकून् भनेर तालिमको आयोजना गरिएको बताए ।

 

वडामा रहेका सबै विद्यालयका विद्यार्थीलाई विभेद नगरी तालिममा सहभागी गराइएको पनि सुनाए । ह्याण्ड राइटिङले पनि कति फरक पार्ने रहेछ भन्ने ज्ञान दिन सकिने माध्यम भएकाले विद्यार्थीलाई सहभागी गराइएको उनको भनाइ थियो ।

 

वडामा ८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई तालिम दिइने जेसीजका कोषाध्यक्ष तथा तालिम संयोजक बसन्त बुढाथोकीले बताए । उनका अनुसार वडामा ४ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालय छन् । उत्त विद्यालयका १ हजार ३७० जना विद्यार्थीलाई स्टेशनरीसहित तालिम प्रदान गरिने छ ।

 

उनका अनुसार सामुदायिकतर्फ भानु मावि, कञ्चनबारी आवि, नवज्योति आवि र समाजसेवी आवि तथा संस्थागततर्फ होली बेसिल, देवभूमि विद्यापीठ, ब्राइटर इङलिस स्कुल र एभरेष्ट इङलिस एकाडेमीका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।

 

अर्जुनधारा जेसीज २०२३ का अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भानु माविका प्रधानाध्यापक रुपक दाहालले स्थानीय सरकारले विकास निर्माणमा भन्दा नगर र वडाबासीको स्वास्थ्य र शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

 

भौतिक संरचनाको निर्माण आवश्यक भए पनि चाँडै भत्किने उदाहरण दिँदै उनले वडाबासीको स्वास्थ्य र शिक्षामाथिको लगानी वर्षौंसम्म दिगो रहने प्रअ दाहालले सुनाए ।

 

तालिममा कक्षा ३ देखि माथिका कक्षामा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने जेसीजका अध्यक्ष खड्काले बताए । उनका अनुसार शुक्रबारसम्म सञ्चालन हुने तालिममा सामुदायिक र संस्थागततर्फ उत्कृष्ट २ २ जना छात्रछात्रालाई पुरस्कृत गरिने छ ।

 

तालिममा कसमस एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टरले सहजीकरण गर्ने मुख्य प्रशिक्षक पारस ढकालले बताए । ‘मनोकर्सिभ’ विधिबाट सिकाइने तालिममा विजय शाह, हरदिप राजवंशी, अनुग्रह कँडेल, अस्मिता विक, स्वस्तिका भण्डारी, रेखा आचार्य र युनिष ढुंगानाले प्रशिक्षण दिनेछन् ।

 

‘मनोकर्सिभ’ विधि फरक फरक अक्षर लेख्ने सिकाउने कला भएको प्रमुख प्रशिक्षक ढकालको भनाइ छ । हस्त लेखन कला नियमित गर्नसके उपलब्धीमुलक बन्ने दाबी गर्दै उनले कस्तो अक्षर लेख्ने, कुन आकारमा सुन्दर अक्षर लेख्ने बानीको विकास गर्न तालिम प्रभावकारी हुने सुनाए ।

 

वडाबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आयोजित तालिममा तालिम संयोजक बुढाथोकीले स्वागत, उपाध्यक्ष मनोज सिटौलाले आस्था बाचन र सञ्चालन जेसीजका महासचिव वेदनारायण गोद्दारले गरेका थिए ।