झापा । जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले कोशी प्रदेशका तीन स्थानमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको छ । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको सो परामर्शदातृ संस्थाले झापाको बिर्तामोड, दमक र सुनसरीको इटहरीमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको हो ।

 

एक-एक दिवसीय एजुकेशन फेयर २०२३ अन्तरगत भदौ २१ गते (सेप्टेम्बर ७) मा दमक शाखामा, भदौ २२ (सेप्टेम्बर ८) मा इटहरी शाखामा र भदौ २३ (सेप्टेम्बर ९) मा बिर्तामोडमा विद्यार्थी र अभिभावकलाई विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले परामर्श दिएका हुन् ।

 

जेन्युइनका निर्देशक तथा बिर्तामोड शाखाका प्रोप्राइटर लक्ष्मीकान्त खनालका अनुसार दमकमा ८० जना, इटहरीमा २०० जना र बिर्तामोडमा १०० जना विद्यार्थीले परामर्श लिएका छन् । फेयरमा अष्ट्रेलियाका ५ वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिले परामर्श दिएका थिए । यस्तै, अमेरिका र बेलायतको एक-एक वटा विश्वविद्यालयबाट सहजीकरणका लागि प्रतिनिधिहरु आएका थिए ।

 

 

जेन्युइनले हालसम्म ६०० जनाभन्दा बढी विद्यार्थीलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालको भनाइ छ ।

 

एडुकेशन फेयरमा परामर्शदाताहरुले सम्बन्धित मुलुकमा अध्ययनका लागि उपयुक्त विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानून आदि विषयमा सहजीकरण गरेका थिए ।

 

अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय रहेको जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले अब चितवन र काठमाडौंमा एजुकेशन फेयर २०२३ आयोजना गर्ने तयारी गरेको छ । नेपालका यी ५ वटा शहरमा जेन्युइनका शाखा कार्यालयहरु सञ्चालनमा छन् ।