अर्जुनधारा । १७औं गणतन्त्र दिवसलाई लक्षित गरी अर्जुनधारा जेसीज शनिश्चरेले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शनिश्चरे माविकी छात्रा मिरा रिजाल प्रथम भएकी छन् ।
‘युवा उद्यमी स्वदेशमा लगानी’ शीर्षकमा सोमबार भएको सामुदायिक माध्यमिक विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगितामा शनिश्चरेकी रिजाल प्रथम भएकी हुन् ।
नगरमा रहेका जम्मा नौमध्ये सातवटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा जनता माध्यमिक विद्यालयकी सृष्टि अधिकारी द्वितीय र कालिस्थान माध्यमिक विद्यालयकी प्रकृति राई तृतीय भइन् ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विजेतालाई नगद पुरस्कार क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरिएको जेसीजका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।
सिस्नेस्थित सिंहदेवी माविको प्राङ्गणमा आयोजित कार्यक्रमलाई अर्जुनधारा १ नम्बर वडा कार्यालयबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । त्यसैगरी प्रतियोगिताको द्वितीय नगद पुरस्कार बुबा ताराकुमार रानाको स्मृतिमा छोरा अर्जुनधारा नगरपालिकाका कर्मचारी रोशन राना र तृतीय नगद पुरस्कार बिर्तामोडस्थित सूर्योदय इञ्जिनियरीङ कन्सल्टेन्सीले प्रायोजन गरेका थिए ।
जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षता, तथा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका संस्थापक अध्यक्ष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, साहित्यकार पूण्य खरेललगायतले मन्तव्य राखेका थिए । जेसीजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सागर घिमिरेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए ।