झापा । ‘स्वास्थ्य नागरिक समृद्ध नेपाल’ भन्ने मुख्य नारासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा स्वस्थ जीवन कार्यक्रम अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वमंसेविका र सञ्चारकर्मीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा एवम् रोगको निर्मुलीकरण गर्ने रहेको बताइयो ।

सहजकर्ताद्वय केन्द्रका प्रमुख डा. रविन्द्र निरौला र कविराज टेकनाथ अर्यालले सहजीकरण गरेको कार्यक्रममा ८० जनाभन्दा बढीको सहभागिता रहेको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

कार्यक्रममा सहभागीलाई स्वास्थ जीवन कार्यक्रमको परिचय, उद्देश्य, कार्यक्रमले समेट्ने विषयहरु, जीवनशैली, खानपानमा के जान्न जरुरी छ ?, स्वास्थ्यको लागि के गर्र्नेलगायतका विषयमा जानकारी गराइएको थियो ।

डा. निरौलाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रका वैद्य निरीक्षक मनोज पण्डितले गरेका थिए ।

यस्तै, स्वास्थ्य कार्यालय झापाले प्रदेश सरकारको सहयोगमा बुधबार नै बिर्तामोडमा स्वस्थ जीवन प्रवद्र्धन अभियानसम्बन्धी पत्रकारसँग अन्तरक्रिया गरेको छ ।

जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका कार्यक्रम संयोजक तीर्थराज आचार्यले सहजीकरण गरेका थिए । भेक्टोर कन्ट्रोरल अधिकृत वेद घिमिरेले स्वागत गरेको कार्यक्रम हेल्थ असिस्टेनट कुलबहादुर पौडेलले सञ्चालन गरेका थिए ।
असार ६ गते झापाबाट पहिलोपल्ट उद्घाटन हुने अभियान सफल पार्न टोल टोलमा कार्यक्रम गरिने बताइएको छ ।