शनिश्चरे । लगातार अत्यधिक गर्मी भएपछि अर्जुनधारा नगरपालिका क्षेत्रका विद्यालयहरुमा दुई दिन विदा दिइने भएको छ । गर्मी विदाको समय नभए पनि अनपेक्षितरुपमा गर्मी बढेपछि विदा दिने निर्णय भएको हो ।
अर्जुनधारा नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी (जेठ २९ र ३० गते) दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । अर्जुनधारा क्षेत्रका अभिभावकहरुको मागबमोजिम दुई दिनसम्म विदा दिने निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ ।
नेपाल शिक्षक महासंघ र प्याब्सन अर्जुनधाराको संयुक्त निवेदन र नगर प्रमुखको निर्णयअनुसार हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको सूचनामार्फत शिक्षा अधिकृत हरिबहादुर कवरले जनाएका छन् । अर्जुनधारा नगरक्षेत्रमा २८ वटा सामुदायिक, ३२ वटा संस्थागत र ५ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेका छन् ।
विदाको दिन अभिभावकले आफ्ना विद्यार्थीलाई पठनपाठन तथा सिकाइ सुधार कार्यमा आवश्यक सहजीकरण गर्न पनि सूचनामा अनुरोध गरिएको छ । गर्मीकै कारण झापाका अन्य केही पालिकाहरूले पनि २ दिनका लागि गर्मी विदा दिने निर्णय गरेका छन् ।