शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा रहेका ९ वटा सामुदायिक र १४ वटा संस्थागत (२३ वटा) विद्यालयमध्ये लक्ष्मी माविका विद्यार्थी आशुतोष ढुंगेलले मात्र एसइइ परीक्षामा ४ जीपीए ल्याएका छन् । ढुंगेल अर्जुनधारा ६ मा रहेकाे लक्ष्मी माविका विद्यार्थी हुन् ।
अर्जुनधारा ६ निवासी ढुंगेल ४ जीपीए ल्याउने विद्यार्थी नगरभरिकै एक्ला विद्यार्थी हुन् । ढुंगेलसँगै लक्ष्मी माविबाट ९३ जना विद्यार्थी एसइइमा सहभागी थिए । जसमध्ये ३४ जना विद्यार्थीले कक्षा ११ अध्ययन गर्ने जीपीए ल्याएका छन् ।
यसैगरी, छात्रातर्फ उत्कृष्ट जीपीए पनि यसै विद्यालयकी छात्रा युष्ना भण्डारीले प्राप्त गरेकाे व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए । युष्नाले सर्वाधिक ३.७४ जीपीए ल्याएकी हुन् । युष्नापछि भानु माविकी लेखिका घिमिरेले ३.७० जीपीए ल्याएकी छन् ।
२०८१ सालको एसइइमा सामुदायिक विद्यालयतर्फ ९ वटा विद्यालय सहभागी थिए । जसमा ५८० जनाले परीक्षा दिँदा २४९ जना विद्यार्थीमात्र उत्तीर्ण भएको नगरको शिक्षा शाखाले जनाएको छ ।
जसअनुसार जनता माविबाट सर्वाधिक ३.६३ जीपीए कुसुम खनालले ल्याएकी छन् । १०६ जनाले परीक्षा दिँदा ६० जनामात्र उत्तीर्ण भए भने ४६ जना नन ग्रडेड भएका छन् ।
यस्तै, भानु माविबाट सहभागी ७३ जनामध्ये सर्वाधिक ३.७० जीपीए लेखिका घिमिरेले ल्याएकी छन् । २८ जना उत्तीर्ण हुँदा ४५ जना नन ग्रडेड भएका छन् । यस्तै, कालिस्थान माविबाट २२ जना सहभागी भएर १३ जनाले परीक्षा उत्तीर्ण गरे । कुशल पौडेलले सर्वाधिक ३.४० जीपीए ल्याउन सफल भए ।
यसैगरी, शनिश्चरे माविका दिपेश चौहानले सर्वाधिक ३.९२ जीपीए ल्याएका छन् । सहभागी १३२ जनामध्ये ६५ जना उत्तीर्ण हुँदा ६७ जना नन ग्रडेड भएका छन् ।
अर्जुनधारा माविबाट ३२ जना सहभागी हुँदा ४ जनाले मात्र कक्षा ११ मा पढ्न पाउने छन् । जसमा विद्या भण्डारीले सर्वाधिक ३.०० जीपीए ल्याएकी छन् । २८ जना नन ग्रडेड भएका छन् ।
यस्तै, सिंहदेवी माविबाट सहभागी ९२ जनामध्ये ३६ जना उत्तीर्ण भएका छन् । यस विद्यालयका निश्चल सुवेदीले सर्वाधिक ३.७३ जीपीए ल्याउन सफल भए । ५६ जना नन ग्रडेड भएका छन् ।
यस्तै, महारानीगञ्ज माविका विद्यार्थी दिपेश बुढाथोकीले सर्वाधिक ३.२९ जीपीए ल्याए । यस विद्यालयबाट २५ जनाले सहभागिता जनाउँदा ८ जनामात्र उत्तीर्ण भए । १७ जना नन ग्रडेड भएका छन् ।
कम सहभागिता जनाएको अर्जुनधारा संस्कृत आदर्श माविबाट एक जनामात्र उत्तीर्ण भएका छन् । २.८५ जीपीए ल्याएर कृष्चल नेपाल उत्तीर्ण हुँदा ४ जना विद्यार्थी नन ग्रडेड भएका छन् ।
शिक्षा शाखाका अनुसार एसइइमा अर्जुनधारा नगरका २३ विद्यालय सहभागी थिए । जसमा सामुदायिक तर्फ ९ वटा र संस्थागततर्फ १४ विद्यालय सहभागी थिए । संस्थागततर्फको नतिजा संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।