झापा । लक्षित वर्गमा विनियोजित बजेटबाट अर्जुनधारा ७ नम्बर वडाले आयोजना गरेको लेखा तथा उद्घोषण तालिममा उत्साहजनक सहभागी रह्यो ।

छुट्टा छुट्टै तालिममा करिब ७० जना सहभागी थिए । जसमा महिलाको सहभागिता ९० प्रतिशत रहेको थियो । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले बद्लिँदो राजनीतिक अवस्थामा तालिम सहभागीका लागि प्रेरक बन्न सक्ने बताए ।

लामो समय द्वन्द्व र राजनीतिक अस्थिरतापछि आएको अहिलेको समयमा आफूलाई परिवर्तन गर्ने कि नगर्ने भन्नेतर्फ सबैले बुझ्न जरुरी रहेको उनले बताए । नगरले आफ्नो क्षेत्रमा विकासका क्रमलाई परिवर्तन गर्ने क्रममा प्राथमिक स्वास्थ्य चौकीलाई २४ घण्टे आकस्मिक सेवा सुरु गरेको बताए ।

त्यस्तै, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा पनि नगरले गरिरहेको र केही दीर्घ रोगको औषधि निशुल्क गरेको पनि उनले जानकारी गराए । हरेक कुराको विधि हुने भएकाले चामत्कारिक हिसाबले कुनै पनि परिवर्तन नहुने उनले स्पष्ट पारे । विकास गर्न र परिवर्तन ल्याउनका लागि समय लाग्ने उनको भनाइ थियो ।

समापन कार्यक्रममा बोल्दै लेखा तालिमकी सहभागी बबिता पाख्रेलले तालिम जीवनोपयोगी बनेको अनुभव सुनाइन् । नगर र वडाबाट लक्षित समुदायलाई दिइने तालिमलगायत विभिन्न कार्यक्रम प्रभावकारी बन्ने उल्लेख गर्दै उनले नमूना नगर वडाको रुपमा विकसित होस् भनेर शुभकामना दिइन् ।

त्यस्तै, उद्घोषण तालिममा सहभागी जानुका दियालीले मान्छेको भिडमा उभिन नसक्ने हामीलाई अगाडि गएर आफ्ना कुरा राख्नसक्ने बनाइदिएको भन्दै आयोजकको वडा कार्यालयको प्रशंसा गरिन् । महिलालाई आफ्ना अभिव्यक्ति समूहमा राख्न सक्षम बनाइदिएको उनको भनाइ थियो ।

उद्घोषण तालिमका प्रशिक्षक तथा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले नगरले आर्थिक विकासमा जोड दिनुपर्ने, व्यक्तिगतसँगै नगरबासीको मानसिक आर्थिक विकासमा नगर लाग्नुपर्ने उनको जोड थियो ।

नगरले बजेट निर्माण गर्दा लक्षित समुदायलाई प्रभाव पार्ने र उपलब्धीमुलक भएकाले विशेष ध्यान दिन उनले आग्रह गरे । बौद्धिक रोजगारलाई आफ्नै स्रोत साधन प्रयोग गर्न नगरलाई उनले सुझाए ।

लेखा अधिकृत सीआर घिमिरेले नगरबासीको क्षमता अभिबृद्धि गराउन आवश्यक रहेको बताए । उनले नगर समृद्ध हुनका लागि नगरबासी रोजगारमुखी हुन जरुरी रहेको औँल्याए । नगर र वडाले प्रदान गर्ने यस्ता तालिमले रोजगारमुखी बनाउने उनको ठम्याइ छ । सिक्ने कुरामा पछि नहट्न सहभागीलाई उनले अनुरोध गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अर्जुनधाराका संयोजक केशव ढुंगेलले यस नगरमा शैक्षिक बेरोजगार रहेको उल्लेख गर्दै सीप भएका बेरोजगारको संख्या न्यून भएको उनले बताए ।

उनले ज्ञान र विवेक फरक विधा भएको बताए । उनले ज्ञान बाँड्न सकिने तर विवेक बाँड्न नसकिने तर्क राखे । उनले विवेक जन्मजात हुने भएकाले त्यो बाँड्न नसकिने जानकारी दिए । सबै तालिमबाट रोजगारको बाटो खुल्ने उनको विश्वास थियो ।

७ नम्बर वडाका अध्यक्ष नवराम ढुंगानाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सदस्यहरु देवकुमार राई, गोमा पर्वतेलगायतले बोलेका थिए । सहभागीका तर्फबाट उद्घोषणको जिम्मेबारी लिएकी दीपा गड्तौलाले सञ्चालन गरेको कार्यक्रममा सहजकर्ता सुष्मा त्रिखत्रीले उद्घोषण तालिमकी सहभागी गंगा थापालाई मायाको चिनो प्रदान गरेकी थिइन् ।