शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा ‘मेयरसँग विद्यार्थी कार्यक्रम’ सञ्चालन गरिएको छ । कार्यक्रममा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीसँग शैक्षिक विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।
मेयरसँग विद्यार्थी कार्यक्रम आज बिहान अर्जुनधारा १ स्थित सिंहदेवी माविबाट सुरु गरिएको हो । यसैगरी नगरपालिकाको सभाहलमा नगरका शैक्षिक सत्र २०८२ को कक्षा १० अध्ययनरत एसईईको तयारी गरिरहेका विद्यार्थीहरुका लागि मेयरसँग विद्यार्थी कार्यक्रम भएको हो ।
भोलि बुधबारसम्म सञ्चालन हुने यस कार्यक्रममा शैक्षिक अभियन्ता याङजोम शेर्पाले विद्यार्थीहरुबीच मोटिभेशननल कक्षासमेत लिएकी छिन् । उनले आफूले जीवनमा शिक्षा प्राप्तका लागि गरेका दुःख र शिक्षा प्राप्तिसँगै मिलेको सम्मानका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् । उनले एम्बीसन गुरु नामक एप्समार्फत अनलाइन कक्षा पढाइएका विषयमा समेत जानकारी दिएकी थिइन् ।
डिजिटल प्रविधिसँगै विद्यार्थीलाई जोडेर कक्षा १० को नतिजा र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेयरसँग विद्यार्थी कार्यक्रम आयोजना गरिएको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए । कार्यक्रममा नगरका आठ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने उनले जानकारी दिए ।
आज पहिलो दिन सिंहदेवी मावि, अर्जुनधारा नगरको सभाहल, महारानीगञ्ज मावि र लक्ष्मी माविमा कार्यक्रम हुनेछ भने भोलि बुधबार जनता मावि, अर्जुनधारा मावि र भानु माविमा कार्यक्रम गरिने तालिका रहेको छ ।
कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, १०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण शैक्षिक अभियन्ता एवम् घुन्सा फाउण्डेसनकी निर्देशक शेर्पा र एसईई २०८२का प्रोजेक्ट मेनेजर दीपक पौडेलले गर्नेछन् ।