शनिश्चरे, झापा । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वरधामको पानी कैलाश घाटसम्म पुर्याउने अभियान आजदेखि शुरु भएको छ ।
चिता पखाल्न कैलाश घाटसम्म पानी पुर्याउने अभियानको श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद अध्यक्ष हर्कराज राई -हर्क साम्पाङ) ले शुभारम्भ गरेका हुन् । जलेश्वरधामबाट कैलाश घाट अढाइ किलोमिटर टाढा रहेको छ ।
अर्जुनधारा ७ मा रहेको घाटमा अर्जुनधारा कैलाशघाट जल ब्यबस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष साम्पाङको हातबाट पाइप जोडेर पसनी पुर्याई उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष साम्पाङले अर्जुनधाराको पानी कैलाशघाट पुर्याउने कार्य सानो तर निकै महत्वपूर्ण भएको बताए । उनले श्रम संस्कृति पार्टी र सहयोग गर्न चाहनुहुने जोसुकैलाई सहयोग गर्न आव्हान गर्दै छिट्टै निर्माण सम्पन्न भएर आफू उद्घाटन गर्न आउने बताए ।
कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले घाट निर्माणका लागि पहिले सरकारी जग्गा नभएको र ऐलानी जग्गामा सरकारी पैसा खर्च गर्न नमिल्नुको कारण बजेट फिर्ता गएको बताए । यस स्थानलाई घाटको रुपमा मात्र नभई पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न आग्रह गर्दै उनले यस कार्यमा नगरपालिकाको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
समितिका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केशव भण्डारी, पार्टीका केन्द्रीय सदस्य तथा किरात याक्थुङ चुम्लुङ बिर्तामोडका अध्यक्ष हिमालप्रकाश कन्दङ्वा, किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला सचिव भिममाया कन्दङ्वा, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, जिल्लाका बिभिन्न स्थानबाट आएका पार्टीका नेता तथा कार्यकर्ता लगायत गरी करिब २०० जनाको उपस्थिति रहेको थियो ।