झापा । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिति झापाले प्रदान गर्दै आएको उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमका लागि १ लाख रुपौयाँ सहयोग प्रदान भएको छ ।
विद्यार्थी घेदुङको विद्यार्थी सम्मान तथा तेस्रो अधिवेशनको अवसरमा झापा कचनकवल ६ घर भइ बिर्तामोड निवासी गंगादेवी गुरुङ तामाङले स्व. श्रीमान मकरबहादुर गोलेको स्मृतिमा नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । तामाङले विद्यार्थीहरुको सम्मानका लागि सहयोग पुर्याउने उद्देश्यले आफ्नो श्रीमानको नाममा सो रकम विद्यार्थी घेदुङलाई हस्तान्तरण गर्नुभएको उहाँकी छोरी निमा गोले तामाङले बताउनुभयो ।
निमा नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिति झापाकी निर्वतमान अध्यक्ष हुनुहुन्छ । उहाँले आफूले विद्यार्थीको हितको कार्य गर्दागर्दै बुबाको निधन भएकाले उहाँको स्मृतिमा अक्षयकोषको स्थापना गरिदिएको जानकारी दिनुभयो । स्व. मकरबहादुर गोलेको २०७६ बैशाख १८ गते निधन भएको थियो ।
नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिति झापाले विगत ४ वर्षदेखि एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारसहित सम्मान गर्दै आएको छ ।
प्रदान गरिएको सहयोग रकमलाई आगमी वर्षदेखि कार्यविधि नै बनाएर अक्षयकोष स्थापना गरी विद्यार्थीहरुलाई पुरस्कार तथा सममान प्रदान गरिने विद्यार्थी घेदुङका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हैकम घिसिङले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा घेदुङले उत्कृष्ट अंक ल्याएर एसइइ परीक्षा उत्तीर्ण भएका जिल्लाका १७ जना तामाङ विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा हिमालय मावि दमकका प्रवेश तामाङ गोले र सुदिक्षा तामाङ थिङ, इस्ट होराइजन मेचीनगरका कौशल तामाङ पाख्रिन र सिद्धार्थ शिशु सदन भद्रपुरका सालु तामाङ ग्लानलाई नगदसहित सम्मान गरिएको थियो ।
उनीहरुले गएको एसइइ परीक्षामा क्रमशः (३.६४) (३.६) (३.६५) र (३.५) अंक जीपीए प्राप्त गरेका थिए । त्यस्तै ३ अंकभन्दा माथि जीपीए प्राप्त गर्ने अन्य १४ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कृशला तामाङ, कल्याण ग्राङदान, सन्जोक तामाङ, राजु तामाङ वमजन, रिसभ घिसिङ, पुजा तामाङ थोकर, प्रतिमा तामाङ घिसिङ, रिना तामाङ गोले, दिप्सना तामाङ ब्लोन, दीपा तामाङ मोक्तान, निशान तामाङ ङेसुर, विनम तामाङ मोक्तान र पेमा तामाङ रहेका छन् ।
उनीहरुलाई कामर्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ प्रदेश १ का अध्यक्ष मित्रसेन योन्जन, विद्यार्थी घेदुङका केन्द्रीय सदस्य हैकम घिसिङ, रोशन लामा लगायतले सम्मानपत्र प्रदान गर्नु भएको थियो । अधिवेशनले प्रकृति घिसिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।