अर्जुनधारा । झापाको अर्जुनधारा-८ स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (एनसीसी)ले अन्तिम प्रदर्शनी गरेको छ । सि.सं. ४६औं जुनियर डिभिजन तालिमअन्तर्गत बुधबार अभिभावकबीच एनसीसी क्याडेटले प्रदर्शनी गरेका हुन् ।

अर्जुनधारा नगरपालिकामा सञ्चालित ३० वटा निजी तथा आवासीय विद्यालय संगठनमध्ये स्वास्तिकामा मात्र रहेको एनसीसीले ७९औँ दिनको तालिम सम्पन्न गरेपछि अभिभावक र नेपाली सेनाका प्रमुखको उपस्थितिमा जुनियर डिभिजन तालिमअन्तर्गतको प्रदर्शनी विद्यालय परिसरमा प्रदर्शन गरेको हो ।

कार्यक्रममा तालिमका सहभागी क्याडेटहरुले झापा जिल्लाको विस्तृत जानकारीसँगै वीर नेपालीहरुको पहिचान झल्काउने खुकुरी ड्रिल, एरोबिक्स पीटी, तेक्वान्दो, साकेला नृत्यलगायत प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकाससँगै उनीहरुलाई अनुशासित, राष्ट्रभक्ति जगाउने, विपद्को समयमा स्वमंसेवी बन्न अभिप्रेरित गर्ने लक्ष्य लिई सञ्चालन भएको उक्त तालिमको जम्मा अवधि एक सय दिन हुने प्रमुख अतिथि नयाँ श्रीनाथ गणका सेनानी धुव्रराज दाहालले जानकारी दिए । ७९ दिन विद्यालयमा सञ्चालन हुने उक्त तालिमको बाँकी २१ दिन यही पुस १५ देखि माघ ६ गतेसम्म मोरङको याङशिलामा फाइनल क्याम्प रहेको बताइएको छ ।

प्रमु्ख अतिथि दाहालले सहभागी अभिभावक, शिक्षक र क्याडेटहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत् सहजीकरण गरेको कार्यक्रममा नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, अभिभावक संघका अध्यक्ष दिपीन राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक ओमप्रकाश ओझाले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।