सालबारी । विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गर्दै झापाको अर्जुनधारा-११ सालबारीमा रहेको महारानीगञ्ज मावको ६२औं वार्षिकोत्सव बुधबारदेखि सुरु भएको छ ।
विद्यालयले सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रका अगुवालाई एकसाथ सम्मान गर्यो । जसमा अर्जुनधारा नगरपालिका ११ नम्बर वडा समितिका अध्यक्ष भैरवबहादुर खड्का, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिराज इङनाम र पूर्व प्रधानाध्यापक बच्चेलाल चौधरीलाई सम्मान गरेको हो ।
त्यसैगरी अभिभावकतर्फ प्रमिला भट्टराई र सुकमती चौधरी तथा वर्ष उत्कृष्ट शिक्षकबाट शिक्षकद्वय दुर्गा ओझा र भीमबहादुर भारतीलाई नगदसहित प्रशंसापत्रबाट सम्मानित गरियो ।

सोही कार्यक्रममा दाता रोहितकुमार भट्टराईद्वारा स्थापित देवीमाया–सूर्यप्रसाद भट्टराई उत्कृष्ट शिक्षा पुरस्कारबाट कक्षा ८ की छात्रा मुस्कान दासलाई नगद ३१ सयसहित प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो । दाता भट्टराईका बुबा सूर्यप्रसादले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यस्तै विद्यालयका सेवानिवृत्त शिक्षक महानन्द बरालसहित अन्य शिक्षकद्वय अनिता शिवाकोटी र नरेश पौड्याललाई विदाई गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित वार्षिकोत्सवको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए । सम्मानित व्यक्तित्वलाई नगर प्रमुख रानासहित अतिथिले सम्मान व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रममा नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, दाता भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्स्व अन्तर्गत सोही दिन अन्तर सदन खेलकुद प्रतियोगिता, बिहीबार सांस्कृतिक कार्यक्रम र शुक्रबार दोस्रो वडाध्यक्ष नगरस्तरीय अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल तथा खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक लिम्बूले जानकारी दिए ।
विद्यार्थीहरुले स्वागत नृत्य तथा कराते खेल प्रदर्शन गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।