बुधबारे । बुद्धशान्ति ४ स्थित मुनामदन एकाडेमीको २२औँ वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।

विद्यालयका कोअर्डिनेटर दीपक गौतमको सभापतित्व तथा सीतारमेश बहुमुखी क्याम्पस बुधबारेका क्याम्पस प्रमुख केशव ढुंगेलको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरिएका थिए ।

विद्यायलका सहप्रिन्सिपल दुर्गा ढुंगेलले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगेलले बुद्धशान्ति गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित हुँदै गएको विद्यालयले गरेको शैक्षिक तथा अन्य प्रगतिप्रति खुसी प्रकट गरे ।

कार्यक्रममा बुद्धशान्ति ४ का वडाध्यक्ष बुद्धिमान जवेगु, वडा नं. ६ का अध्यक्ष शम्भु पौडेल, शिक्षा शाखा प्रमुख कमल निरौलालगायतको उपस्थिति थियो । कार्यक्रममा साना विद्यार्थीहरुद्वारा मोडलिङ, राउटे जातिको पहिचान झल्काउने नृत्य, राष्ट्रप्रेम झल्कने नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल चेतन ढुंगेल र शिक्षक अर्जुन अधिकारीले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा करिब ९ सयभन्दा बढी विद्यार्थीहरुले सामुहिक तथा एकल प्रस्तुति दिएका थिए ।