बिर्तामोड । ‘लागुऔषध तथा दुव्र्यसन जरैबाट हटाऔँ, सभ्य बिर्तामोडको कल्पना गरौँ’ भन्ने उद्देश्यका साथ बिर्ता एन्ड इन्टरटेन्टमेन्टको व्यानरमा ‘मिसन बिर्तामोड’ नेपाली सट मुभी बन्ने भएको छ ।

निर्माण पक्षले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी सट मुभीको बारेमा जानकारी गराएको हो । मिसन बिर्तामोडका लेखक तथा निर्देशक राज सुब्बा लावतीका अनुसार गाउँबाट बिर्तामोड अध्ययनसँगै विभिन्न सिलसिलामा आएर बसेका युवा पिढी कसरी दुव्र्यसनमा दिन प्रतिदिन फस्दै गएका छन् भन्ने कथामा मिसन बिर्तामोड केन्द्रित रहनेछ । ‘हामी गाउँमा पनि झाँगिदै गएको विकृति र सहरको दुव्र्यसन निराकरणका विषयमा पनि सट मुभीमार्फत पस्कने छौँ’, निर्देशक लावतीले भने ।

१० दिनको छायांकनमा सुटिङ सकिने लक्ष्य लिइएको चलचित्र युनिटले शुक्रबार बिहान पाउ पाथिभरामा शुभ मुहूर्त गर्ने भएको छ । झापा र इलामका रमणीय तथा ग्रामीण क्षेत्रलाई छायांकन स्थल रोजेको यस सट मुभी करिब ७ लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ । लगभग १ घण्टा समयको यस मुभीमा एउटा गीत समावेश गरिने पनि उनले जानकारी दिए ।

करिब १ महिनाको अवधिमा सबै काम सकेर प्रिमियर शो गर्ने लक्ष्य लिइएको निर्माता राजन थापाले जानकारी दिए । ‘प्रिमियर शोपछि स्कुल र कलेजमा प्रदर्शन गरिनेछ’, उनले भने । केही समयपछि युट्युव च्यानलमा प्रशारण गरिने उक्त मुभी व्यापारिक उद्देश्यले निर्माण नहुने उनको भनाइ छ । ‘हामी लगानी उठाउने प्रयास गर्नेछौँ’, उनले भने ।

सुवास लिम्बूको सिनेमाटोग्राफी रहने मुभीको निर्माता राजन थापा र समूह, कार्यकारी निर्माता एलसी श्रेष्ठ, सह निर्माता अर्जुन मेचे र द्वन्द्व सन्तोष खवासको रहनेछ । कलाकार राजन थापासँगै रमेश बोहरा, राज शेर्मा, कृष्ण तामाङ, विक्रम गेलाल, प्रताप सुनुवार, सेजल कडरिया, चन्द्र राजवंशी र पेम्वा लामा वरिपरि कथा केन्द्रित रहने बताइएको छ । पदम तामाङको मेकअप रहने मुभीको अन्य कलाकारमा रीना तामाङ, राजु गौतम, राज शर्मा, चेतन खतिवडा, एलसी श्रेष्ठलगायत रहेका छन् । विशेष स हयोगीमा रमेश चौधरी, प्रकाश गुरुङ र याम लिम्बू रहेका छन् ।