आ–आफ्ना सपना सिउरेर हिँडेका मानिस आपसमा कसरी एउटै वृत्तमा घुम्न थाल्छन् ? उनीहरूबीच कसरी गाँसिन्छ सम्बन्ध ? अलग दिशा, फरक मोड र भिन्न गोरेटो तय गरेर आएका पृथक् व्यक्तिका सपना कसरी विपनाको आँगनमा स्नेहले सँगै मिसिन्छन् ? सबै अचानक, सबै आकस्मिक ढङ्गले नै हुन्छ । खोजूँ त किन खोजूँ ? जब नियतिले नै त्यसको जिम्मा लिएको छ ।

आ–आफ्नो सपना पूरा गर्न सहरमा मेसिनझैँ द्रुत दौडिरहेका मानिसलाई एक–अर्काबीचमा रहेकै ‘कनेक्सन’ पक्रन हम्मे–हम्मे हुन्छ । एकले अर्कालाई सुन्न र महसुस गर्न पनि समय जुटाउनै मुस्किल हुन्छ भने के–के गर्दा को साथी बन्छ वा कुन जादूमन्तरले मित्र मिल्दछ ? को साथी हो, को होइन भन्न कठिन छ यो कालमा । यस्तो अवस्थामा पनि म भने दङ्ग छु– साथ हराएको संसारमा मेरो एउटा साथी छ ।

त्यो साथी जसलाई उचित ‘कम्प्लिमेन्ट’ दिन आउँछ, जसले सहअस्तित्व सहर्ष स्वीकार गर्छ र जसले असल सम्बन्धका लागि आवश्यक जिम्मेवारी निर्वाह गर्छ, अनि आफ्नो सहकर्मीको शक्ति, सम्भावना र अवधारणालाई ध्यानले सुन्छ, महसुस गर्छ । त्यो साथी हो दया । र, मलाई लाग्छ सही समय र सही ठाउँमा सही मान्छे भेटियो भने त्यो बन्दो रहेछ साथी र मित्रताको रङ सप्तरङमा बदलिँदो रहेछ । आइलाग्ने अधिकांश बिघ्नहरू अञ्जानमै पन्छिएर जाँदा रहेछन् । निश्चिन्त छु म, नियतिले मलाई दिएको एउटा सुन्दर उपहार छ– मेरो एउटा साथी छ ।

०००
सन् २००४ को वसन्तयामको कुरा हो । गुरुकुल परिसरमा निर्देशक नवीन सुब्बाका साथमा पोटिलो शरीर, दुधिलो अनुहार र लामो कपाल भएको एकजना युवक देखापर्छ । ‘दाइ, नमस्कार दाइ’ भन्दै म ऊसँग विनम्रतापूर्वक हात मिलाउँछु । यस्तो क्रम निकैपटक चलेछ । धेरै पछि थाहा भयो– ऊ नवीन सुब्बाको भाइ नभएर दयाहाङ राई पो रहेछ !
जसरी म गुरुकुलमा नाट्यकला सिक्दै थिएँ, ऊ पनि कलाकार बन्ने सपनाको दौडमा थियो । आ–आफ्नो सपना बोकेर अलग–अलग बाटो हिँड्दै थियौँ हामी । तर, अन्ततः हामी दुवै एउटै थलोमा नारिन आइपुग्यौँ । मभन्दा चार वर्षले कान्छो ‘दाइ’ दयाहाङबाट साथी दयाहाङ बन्यो । रमाइलो कुरा हामी चिनारुबाट मित्र बन्न चारै वर्ष लागेछ ।

म गुरुकुलमै भेटिन्थेँ, ऊ पनि आउँथ्यो अक्सर । भेट हुन्थ्यो, तर त्यो भेट ‘हेलो–हाइ’मै सीमित थियो । उसले दाइ विजय विस्फोटको नाटक गर्दै अनुप बराल सरको ‘एक्टर्स स्टुडियो’सम्म तालिम लिन भ्याइसकेको रहेछ, बिस्तारै थाहा पाउँदै गएँ । सन् २००८ मा गुरुकुलमा ‘बुर्की’ मञ्चन भयो । अचानक मेरो साक्षात्कार एकजना सानदार अभिनेतासँग भयो । त्यो अरू कोही थिएन, दयाहाङ नै थियो । मलाई एकछिन त पत्याउनै मुस्किल भयो । उसले चरित्रमा निकै मिहिनेत गरेको थियो । बाहिर सामान्य देखिन्थ्यो दया, तर भित्र मञ्चमा बिल्कुल भिन्न । जादूमय प्रस्तुति थियो उसको । उसको यो रूप देखेर मेरो भुत्ते सोच चिरा–चिरा भयो । यसअघि मलाई लाग्थ्यो, ‘नाटकमा एक्टर भनेको त हामी मात्रै हौँ ।’  नाटकपछि त्यतिवेला मैले केही भनिनँ, धेरैपछि मन खोलेर तारिफ गरेँ । यस्तो लाग्यो, लक्ष्यको खोजीमा हिँडेको ऊ आफैँ एउटा शक्तिशाली मिसाइल हो ।

त्यसपछि सन् २००८ मै एक्टर्स स्टुडियोको स्टुडेन्ट प्रोडक्सन ‘माइला डटकम’ मञ्चन भयो, उसकै निर्देशनमा । मेरो अनुमान फेल खाएन– नेपाली रंगमञ्चको एक प्रबल सम्भावनाको प्रतिनिधि उसले आफैँलाई साबित ग¥यो । मैले भनेँ, ‘बवाल ग¥यौ यार । ’ उसले मुस्कुराउँदै भन्यो, ‘त्यस्तो होइन होला । म खासै जान्दिनँ, कोसिस मात्र हो ।’ आजपर्यन्त पनि ऊ यस्तै अभिव्यक्ति दिन्छ । चाहे जुन उचाइमा ऊ पुगोस्, उसमा घमन्ड पटक्कै छैन । नाटकको अभ्यासले उसलाई सच्चा मानिस बनाइसकेको छ । सन् २००८ तिर हुनुपर्छ, मैले गुरुकुल छाडेको र शिल्पीको सुरुवात गरेको । त्यसमा पनि संस्थागत रूपमा रहिनँ । म केही अरू नै खोज्दै थिएँ, तर के खोज्दै थिएँ थाहा थिएन । बतासले के खोज्छ ? किरणले के
खोज्छ ? किन हाम्फाल्छ वर्षा धरतीमा, के–को खोजी होला त्यो ? मेरो खोजीको पनि जवाफ थिएन । विनाखोजी म सहर चहार्दै थिएँ– एक्लै । म एक्लै थिएँ– एकान्तमा । म एक्लै थिएँ भिडमा पनि ।

एक वर्षको अन्तरालपछि सन् २००९ मा धोबीखोला पुलछेउ दयासँग धेरै दिनपछि भेट भयो । मसँग एकजना साथी थिइन् । साथीलाई दयाको परिचय दिएँ, ‘मेरो साथी दयाहाङ ।’ दयाले मलाई गिज्यायो, ‘को साथी ? के–को साथी ? चुरोट बिँडी केही खान्नौ त सँगै !’ ऊ चुरोट तान्दै थियो । सोचेँ– ‘लौ जा, चुरोटले साथी बनिन्छ भने हान्दिउँन त !’ सडकको पेटीमा मैले मजाले चुरोट तानँे । पूरै ब्रह्माण्ड फनफनी घुम्यो मेरोअगाडि । दया मेरो गति देखेर सुरुमा अक्क न बक्क भयो । उसका आँखामा स्नेहको झिल्को मिलिक्क देखापरेको हुनुपर्छ । एकछिनको गम्भीर अवस्था, हाँसोमा बदलियो । व्यक्तिपिच्छे फरक हुन्छन् स्मृतिहरू । रमाइलोको महसुस गराई पनि मान्छेपिच्छे अलग हुन्छ । र, मेरो निम्ति एक किसिमको रमाइलो अनि सम्झनाको खातामा रहने ‘मोमेन्ट’ थियो त्यो । अहिले सम्झिँदा लाग्छ, हाम्रो आत्मीय मित्रताको प्रारम्भ बिन्दु त्यही हुनुपर्छ । हाम्रो सहयात्राको महŒवपूर्ण पाइला त्यहीँबाट सुरु भएको हुनुपर्छ ।

अघि नै भनेँ, म सहर चहारिरहेको थिएँ । एक्लै भनेको थिएँ । तर, मलाई लाग्छ म एक्लै थिइनँ । मसँग एउटा सपना भएको कन्तुर पनि थियो । नाट्य संस्था खोल्ने अनि नाटक बनाउने सपना थियो त्यस कन्तुरमा । हो, सपना त थियो, तर साथी थिएन र त्यसकै कारण साहस पनि थिएन । उता, दयाको कुरा गरुँ । उसलाई समूहसँग काम गर्ने कुरामा चासो थिएन । ‘माइला डटकम’को एउटा प्रदर्शनपछि उसका लागि समूह भन्ने कुरासँग मन मरिसकेको थियो । किनभने त्यस नाटकमा खेल्ने एकजना कलाकार रविन पाण्डे (दयाको प्रिय साथी)को मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । साथी र कामका हिसाबले दया एक्लो भएको थियो । म पनि साथीविहीन ।

मैले एकदिन भनेँ, ‘दया, माइला डटकम फेरि गरौँ न, त्यो मलाई असाध्यै मनपरेको नाटक हो । म खेल्छु ।’ दया केही बोलेन । मेरो मन पनि चसक्क भयो । लाग्यो, मैले उसको आलो घाउ चलाएँ । दया अझै चुप थियो । मैले भनेँ, ‘रविनको ठाउँ लिन त म कहिल्यै सक्दिनँ । तर दया, उसको भूमिका त गर्न सक्छु नि !’ मैले यो कुरा त्यस घडी भनेको थिएँ, जतिखेर दयाका लागि नाटकभन्दा साथीको रिक्तता अर्थपूर्ण थियो । स्थितिको कुरा गर्दा ऊ भर्खरै साथी गुमाएको अवस्थामा थियो । म पनि घर, परिवार, साथी, सम्बन्ध र पैसा सबै–सबै गुमाइसकेको स्थितिमा थिएँ । आफूभित्र बडो रित्तोपन महसुस गरिरहेको अवस्थामा थिएँ म । हामी दुवै निकैबेर केही बोलेनौँ । चुरोटको धुवाँ वरिपरि उडिरहे, गिलासमा चिया कम हुँदै गयो । चिया–चुरोट खाएर आ–आफ्ना घर लाग्यौँ हामी ।

दिन ढल्छ, साँझ पर्छ, जीवन यसैगरी त सिद्धिन्छ ! हेर्दाहेर्दै तीन महिना बित्यो । दयाले यस अवधिबीच मेरो प्रस्तावको कुनै उत्तर दिएन । मैले पनि उसलाई ताकेता गरिनँ । एकदिन दयाले मेरो तीन महिनाअघिको प्रस्तावमा मुन्टो हल्लायो । हामीसँग मञ्च थिएन । वल्र्ड ट्रेड सेन्टरको हल ताक्यौँ हामीले, जहाँ ‘माइला डटकम’ एक महिना चल्यो । त्यस प्रक्रियाबाट एउटा समूहको निर्माण भयो, स्वस्फूर्त । नाटक प्रदर्शन सिद्धियो, तर हाम्रो सहयात्रा टुङ्गिएन । हामी एक कदम अगाडि लम्कियौँ । मिलेर मण्डला नाटकघर निर्माण ग¥यौँ । र, थाहै नपाई हाम्रो सपना विपनाको आँगनमा ओर्लियो ।

एकातिर मेरो नाटकको यात्रा अघि बढिरहेथ्यो, अर्कोतिर दया नेपाली सिनेमाको प्रिय नायकमा स्थापित हुँदै गयो । दयाको अभिनय शिल्प र निर्दोष मुहारलाई सारा नेपालीले बडो प्रेमले काँध थापे । म जति खुसी छु, हुन्छु र रहन्छु यस कुरामा– कि अरू को होला र ? झन् मेरो खुसी परम आनन्दमा परिणत हुन्छ यस कुरामा कि प्रशंसा, पैसा र सफलताले दयामा कहिल्यै अहङ्कारको जलप चढेन । ऊ त्यस्ता थोरै दुर्लभ प्राणीमा पर्छ, जो जतिसुकै आकाशमा उडे पनि आफ्नो जमिन बिर्संदैन । त्यतिवेलाको दया र अहिले सफलताको बार्दलीमा मुस्कुराएर उभिएको दयामा कुनै भिन्नता छैन । यो म मात्र भन्दिनँ, उसलाई निःशर्त चिन्नेहरूले भन्छन् कि ऊ असलमना मानिस हो र सधैँ असलमनै रहन्छ । बिराउन सकिने बाटाहरू ऊसँग डराएर लुक्छन् । एकातिर मेरो नाटकको यात्रा अघि बढिरहेथ्यो, अर्कोतिर दया नेपाली सिनेमाको प्रिय नायकमा स्थापित हुँदै गयो । दयाको अभिनय शिल्प र निर्दोष मुहारलाई सारा नेपालीले बडो प्रेमले काँध थापे । म जति खुसी छु, हुन्छु र रहन्छु यस कुरामा– कि अरू को होला र ?

दयाहाङले कहिल्यै संस्थामा आफ्नो हैसियत, पद वा नाम खोजेन । आफ्ना सिर्जनात्मक कामप्रति मात्र उसको ध्यान छ, जसरी अर्जुनले परीक्षामा वाण चलाउँदा चराको आँखाबाहेक केही देखेनन् भन्ने कथामा भनिएको छ । मण्डला थियटरसँग उसको एक दशकको यात्रामा ऊ सधैँ अध्यक्ष रह्यो, म महासचिव रहेँ । हामीले कहिल्यै पदलाई लिएर लडाईँ गर्नुपरेन । हामी स्पष्ट थियौँ र हामीलाई थाहा थियो हामी जे गर्दै छौँ र जहाँ गर्दैँ छौँ त्यसको आयु लामो हुन्न । त्यो बुझाइ हाम्रो अनुमान होइन, जीवन भोगाइले दिएको अनुभव हो ।

ऊ सिनेमामा व्यस्त भएको वेला सम्झना आउँछ अक्सर उसको । म ‘मिस’ गर्छु उसलाई । सोच्छु, ‘हामीलाई एउटै मियोमा गाँस्ने कुरा के होला ?’ जवाफ धेरैबेर कुर्नैपर्दैन । हामी दुवैको नाटकप्रतिको ‘प्यासन’ र एक–आपसप्रति गहिरो विश्वास नै हो । हाम्रो सम्बन्धको तार टुटाउन केही सम्मानजनक व्यक्तित्वहरूले प्रयास नगर्नुभएको होइन । जातीय हिसाबमा भड्काउन खोजियो । उसलाई मेरो पछि लागेको र मलाई उसको पछि लागेको भनेर उक्साउन खोजियो । हामी कलाकार थियौँ– थिएटरका कलाकार । हामीलाई थिएटरले मानवता र प्रेम सिकाएको छ ।

हाम्रो अहङ्कार, ईष्र्यालाई पनि पखालेको छ । त्यसैले हामी दुवैले सज्जनहरूको ‘इटेन्सन’ बुझ्यौँँ, त्यसैले त आज ती घटनाहरू हँसाउने किस्सा बनेका छन् । हामीलाई थाहा थियो, हामी जात, धर्म र मान्छेको होइन, मन लागेको कामको पछि लागेका हौँ । हाम्रा व्यक्तिगत स्वार्थहरू पनि होलान्, तर समूहको काँधमा चढेर हामी दुवैले आफ्नो स्वार्थ कहिल्यै पूरा गर्नेछैनौँ । यो हामीभित्र सिञ्चित विश्वास हो, अरू केही होइन । हामीबीच कथम्कदाचित व्यवहारगत द्वन्द्व उत्पन्न भयो भने पनि त्यसलाई हामी नाटक मञ्चनसँगै समापन गर्छौँ, पखाल्छौँ ।

दयाले राजनीति बुझेको छ, तर कसैमाथि राजनीति गर्दैन । ऊ कसैको व्यक्तित्वसँग खेलबाड गर्दैन । ऊ इमानदार छ, र त बेइमानी पनि सहन सक्दैन । मानिसहरू उसलाई कठोर देख्लान् । तर, मैले ऊभित्र सबैका लागि कोमल हृदय देखेको छु । मलाई थाहा छ, ऊ कसरी मभित्र मिसिएको छ । र, मलाई परवाह पनि छैन ऊभित्र म कति मिसिएको छु भनेर ।
दया धेरै समय सिनेमातिर हराउँछ, तर नाटकको कथा बुनेर ल्याउँछ । जान्छ दया, सिनेमाले दयारूपी माछालाई बल्छीमा पार्छ, तर ऊ फेरि फुत्किएर आउँछ नाटककै संघारमा । र, नाटकघरका चर्किएका भित्ताहरूमा लिउन लगाउँछ । आउँछ ऊ, सिनेमाको संसारबाट भारी मन लिएर आउँछ र नाटकको प्रक्रियाबाट हलुका भएर जान्छ ।

चम्किलो ‘ग्लामरस’ वातावरणमा हामी वेलाबखत सँगै पुगेका हुन्छौँ । त्यतिखेर हामी दुवै आफूलाई रत्याउने कोसिसमा हुन्छौँ । एउटा ठूलो भिडले मसँग दयालाई छिनेर लैजान्छ । म दयालाई पुलुक्क हेर्छु, म एक्लै परेको छु कि भनेर मलाई नियाल्छ ऊ । उसले परैबाट गरेको महसुस म वरैबाट महसुस गर्छु । त्यतिखेर मलाई ‘बिल्लु बार्बर’ मा हिन्दुस्तानी अभिनेता साहरूख खान र इरफान खानले खेलेको एउटा मार्मिक दृश्य याद आउँछ ।

मलाइ गर्व छ दयाप्रति, ऊ सिनेमामा सफल कलाकार साबित भएकोमा । तर, ऊ सजिलै त्यहाँसम्म पुगेको होइन । उसले कठिन संघर्षपछि जितेको लडाइँ हो यो । उसको विगतले उसलाई झन् विनम्र बनाएको छ । ऊ बोल्दैन, बोलेर माया गर्न जान्दैन, व्यवहारले गर्छ । कहिलेकाहीँ मलाई लाग्छ, कतै मैले दया र अरू साथीहरूलाई जबर्जस्ती फसाएँ कि ? कहिलेकाहीँ एकान्त मन्थन गर्दा मलाई यस्तै भान हुन्छ । नमान्दा नमान्दै दयालाई अध्यक्ष पदमा राख्दा होस् वा मण्डलाको स्थापना गर्दा होस् वा यसपालि भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव गर्दा होस् दयाले मैले भनेको कुरालाई कहिल्यै काटेन ।

दयाबारे मैले भन्ने थुप्रै कुरा छन् । ऊ र म सँगै सहयात्रा गर्दाका रोचक, अन्तरङ्ग र आँखा रसाउने कहानी छन् । ती सबै यहाँ भनेर साध्य छैनन् । म लेख्ने मान्छे होइन, त्यसैले थिएटरमार्फत म ती कुरालाई टुक्रा–टुक्रामा पछि नाटकमा बुन्नेछु । मलाई विश्वास छ– तिनले सग्लो आकार पनि लिनेछन् । तर, एउटा कुरा भन्न मन छ– प्रेमको पक्षीलाई बन्धन स्विकार्य छैन । यो चेत म र दयालाई जसले दियो, कृतज्ञ छु म ऊप्रति । हामी फर्की–फर्की एकैठाउँ आउँछौँ, किनभने हामी दुवैले एक–अर्कालाई स्वतन्त्र छाडिदिएका छौँ । र, हामीबीच एक–अर्काप्रति कहिल्यै नरित्तिने विश्वासको कुवा छ । सम्भवतः त्यही नै हाम्रो सम्बन्धको बलियो आधार हो । मसँग अझै एउटा सपना बाँकी नै छ– मसँग प्रशस्त पैसा होस् र म दयाको सपना पूरा गर्न सकूँ । स्वार्थी छु म, किनभने त्यो सपना दयाको मात्र होइन, मेरो पनि हुनेछ । दया, थाहा छ तिमीलाई– मेरो एउटा साथी छ ।

साभार : नयाँ पत्रिका/झन नयाँ