झापा । पेसाले इन्जिनियर भए पनि वीरेन्द्र श्रेष्ठको लगाव गीतसंगीतप्रति विछट्टै छ । जलविद्युत आयोजनाको व्यस्त समयलाई बचाउँदै फुर्सदमा गीतसंगीतमै ध्यान दिन रुचाउने गायक श्रेष्ठले ‘पिरिमको बाढी बगाउँछु’ गीत बजारमा ल्याएका छन् ।
श्रेष्ठलाई गायक अन्जु पन्तले साथ स्वरमा साथ दिएकी छन् । सोमबार सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा दिलिप रायमाझी र केकी अधिकारीले रोमान्स गरेका छन् । उनीहरु दुईजनाले म्युजिक भिडियोमा खुलेर पिरिमको बाढी बगाएका छन् ।
इन्जिनियरिङ क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाइसकेका वरिष्ठ इन्जिनियर श्रेष्ठको गायन यात्राकै सबैभन्दा महत्वकांक्षी गीतका रुपमा रहेको यो भिडियो रिलिज भएलगत्तै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
चर्चित सङ्गीतकर्मी दिपक शर्माको शब्द र सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
मिलन विश्वकर्माको सहायक निर्देशनमा तयार भएको भिडियोमा रायमाझी र अधिकारीको गज्जबको नृत्य देख्न सकिन्छ । गाउँले परिवेशभित्र प्रेमी र प्रेमिकाको प्रेममय जीवनलाई विशेष रुपमा प्रस्तुत गरिएको भिडियो काभ्रेको भकुन्डेवेसी आसपासका क्षेत्रमा छायांकन गरिएको हो । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
यसैबीच, गायक श्रेष्ठले चाँडै ‘आऊ न माया’ बोलको गीतको पनि म्युजिक भिडियो बजारमा ल्याउने बताए । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको सिनाममा जन्मेका श्रेष्ठले हालसम्म ३० वटा गीतहरु तथा आधा दर्जनभन्दा बढी म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।
यसअघि टिका भण्डारीको संगीतमा ‘तिम्रो मनसँग आज’, दिपक शर्माको संगीतमा ‘घर हाम्रो लेकैमा’ लगायतका गीतलाई पूर्वका दर्शकस्रोताले निकै रुचाएका छन् ।