झापा । भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई आइतबार बिर्तामोडमा भव्य सम्मान गरिएको छ ।

इटहरीका आचार्यलाई नेपाल संगीत कलाकर्मी संघ झापा र बिर्तामोडस्थित सरगम संगीतालयले नगदसहित सम्मान गरेको हो ।बाबु काशीराम आचार्यसहित पुगेका प्रितमलाई स्वागत गर्न बिर्तामोडका सयौँ बालबालिका र कलाकर्मी भेला भएका थिए ।

संगीत सिक्दै गरेका बिर्तामोडका बालबालिकालाई प्रितमले हिन्दी गीत ‘सन्देश आते है…’ र ‘तडप तडक के इस दिल…’ तथा भक्तराज आचार्यको नेपाली गीत ‘हजार आँखा हेर्ने मेरी मायालुलाई…’ गाएर सुनाए । सम्मान कार्यक्रममा प्रितमका बुवा टीका आचार्य पनि उपस्थित थिए ।

कार्यक्रमपछि प्रितमसँग फोटो खिच्नेको भीड नै लाग्यो । प्रितम नेपालकै गहना भएकाले झापा बोलाएर सम्मान गरिएको सरगम संगीतालयका प्रबन्धक दीपक रायामाझीले बताए । सारेगमप लिटिल च्याम्प’मा सेकेन्ड रनर अप हुन सफल प्रितम यतिबेला सम्मान थाप्नमै व्यस्त छन् ।

कार्यक्रमका प्रमुख अतिथि संगीत कलाकर्मी संघका केन्द्रीय अध्यक्ष डीबी गुरुङ, सरगम संगीतालयका प्रबन्धक दीपक रायामाझी, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ लगायतले प्रितमलाई सम्मानपत्र प्रदान गरेका थिए । प्रितमलाई आयोजकका तर्फबाट नगद १५ हजार प्रदान गरिएको थियो ।

भारतबाट फर्किएलगत्तै प्रितमलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गर्‍यो । गत सोमबार प्रितम पूर्वी नाका काँकरभिट्टा हुँदै स्वेदश फर्किएका थिए । प्रतियोगितामा भाग लिन भारत जानुअघि पनि प्रितमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गर्दै विदाइ गरेका थिए ।

१० जेठ २०६५ मा जन्मिएका इटहरी उपमहानगरपालिका–५ का प्रितमले ४ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् ।