यतिबेला नेपाली सिने बजार तताएको छ एउटा अघोषित फिल्म ‘प्रेम गीत-३’ को चर्चाले । ‘प्रेम गीत-३’ अघोषित फिल्म हो । यो फिल्मको सम्पूर्ण तयारी हुँदा हुँदै पनि औपचारिकरुपमा घोषणा गरिएको छैन । तर, पनि यो चलचित्र को चर्चा दिनानुदिन चुलिँदै गएको छ ।

यस फिल्मको नायिका (गीत)को लागि अडिसन को आह्वानको कुराले होस् या नयाँ पुराना कलाकार इन्ट्री सबै कुराले चर्चा पाइरहँदा, अब अझ बढी चर्चा यसको मेकिङले पाएको छ । यतिबेला यो टिम फिल्मका मुख्य कलाकारसहित घोडा सवारीको अभ्यासमा व्यस्त छ । फिल्मका लागि सबै कलाकारहरुले आआफ्नो भूमिकाअनुसार तयारी गरिरहेका छन्, फिल्मको वर्कसपमै यति धेरै चर्चा हुँदैछ ।

चाहे प्रदिपले पालेको दारी होस् या मुख्य कलाकारले गरेको घोडचढी अभ्यास । यस वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ को छायाङ्कन दशैं लगत्तै सुरु हुने भने पनि तयारी तीब्ररुपमा भइरहेको छ । निर्माता सेनका अनुसार अभिनेत्री क्रिष्टिनाको साथमा मुख्य अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ, सन्तोष सेन, नव नायक मनिष राउत, प्रेम पुरी, पुस्कर कार्की, सुनिल थापा, अनुभव रेग्मी लगायत कलाकारहरुले घोडा सवारीको अभ्यास गरिरहेका छन् ।

प्रेम गीत र प्रेम गीत-२ को सफलताको मिठो स्वाद चाखेका निर्माता सेन, प्रेम गीत-३ बाट भने केही फरक गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ इतिहास रच्ने तयारीमा रहेको देखिन्छ । यसका लागि मेकिङमा कुनै पनि कसर बाँकी नराख्ने सेनले बताएका छन् ।

फिल्म यसवर्षको अन्तिम चैत २८ को लागि रिलिज मिति लक भइसकेको छ । फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गर्दैछन् भने छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका छन् ।