चर्चित तथा सफल निर्माता सन्तोष सेनको निर्माण र निर्देशनसमेत रहने सफल चलचित्र प्रेम गीतको तेस्रो सिक्वेलमा रहने शीर्ष गीतको रेकर्डिङ सकिएको छ । चलचित्रका मुख्य कलाकारसहित सबै कलाकारहरु फाइनल भइसकेका छन् । अहिले सबै टिम वर्कसपमा व्यस्त रहेका छन् । वर्कसपसँगै चलचित्र प्रेम गीत ३ को शीर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न भएको हो ।

यो वर्षको बहुप्रतिक्षित फिल्म भनिएको ‘प्रेमगीत–३ को छायाङ्कन दशैं लगत्तै सुरु गरिने निर्माता सन्तोष सेनले यसअघि नै जानकारी गराइसकेका थिए । राजेशकुमार श्रेष्ठको रचना रहेको सो गीतको संगीत चर्चित संगीतकार एलिश कार्कीले गरेका हुन्। रेडियो नेपालको ठुलो रेकर्डिङ हलमा ८० जनाभन्दा बढी वाद्यवादक कलाकारहरुको सहभागितामा लाईभ बाजाको साथमा सो गीत को रेकर्डिङ गरिएको हो ।

चलन चल्तीका रेकर्डिङ तरिकाभन्दा पृथक किसिमले अर्केस्ट्रासहित वाद्यवादकको प्रयोग गरेर रेकर्डिङ कार्य सम्पन्न गरिएको हो । उक्त शीर्ष गीतमा आवाज भने प्रताप दास र प्रबिशा अधिकारीको रहेको छ ।

रेकर्डिङको सामुहिक आवाजको निम्ति कलाकार शिव श्रेष्ठ, प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत थुप्रै कलाकार रेडियो नेपाल पुगेका कारण यो गीत अघिल्लो सिरिजका गीतभन्दा फरक गीत बन्ने अनुमान गरिएको छ ।

नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिज हुने ‘प्रेमगीत–३’ निर्माण टिमले गरिरहेको मिहेनत निकै तारिफयोग्य देखिएको छ । यो फिल्मको कथा निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गर्दैछन् ।