झापा । नेपाल तामाङ घेदुङ संघ उर्लाबारी मोरङको आयोजनामा हुने मिस तामाङ प्रदेश १ को फिनाले आज शनिबार धनकुटाको हिलेमा हुँदैछ ।

तामाङ समुदायका युवतीहरुकोे व्यक्तित्व बिकास, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, भाषा संस्कार, संस्कृतिको उत्थान र प्रवद्र्धन गराउने उद्देश्यले आयोजना गरिएको ‘मिस तामाङ प्रदेश १’ मा अहिले १४ जना सहभागी छन् । उनीहरुलाई बन्द प्रशिक्षणमा राखेर विभिन्न विधामा तालिम गराइएको थियो ।

प्रदेशका विभिन्न स्थानमा गरिएको अडिसनमा सहभागी ५० जनाभन्दा बढीबाट छनोटमा परेका उनीहरुको उर्लाबारीको सिङ्हिम होटलमा ‘ट्यालेण्ट शो’, झापाको बिर्तामोडमा ‘फेशन शो’को आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ संघ उर्लाबारीका अध्यक्ष राजु घिसिङ्गले जानकारी दिनुभयो ।

फिनालेको प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ रहेका छन् । मिस तामाङको उपाधि विजेताले एक थान स्कुटी र नगद २५ हजार पाउने आयोजकले जनाएको छ । त्यस्तै, पाँच दिनको विदेश भ्रमणको अवसर पनि मिस तामाङलाई मिल्नेछ ।

त्यस्तै, फस्ट रनरअपलाई नगद १ लाखसहित गिफ्ट ह्याम्पर, सेकेन्ड रनरअपलाई, ५० हजार नगदसहित गिफ्ट ह्याम्पर, अन्य बिभिन्न आठ विधाका विजेतालाई नगद १० हजारसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।