धरान । प्रदेश १ सरकार मुल आयोजक रहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०७६ को तयारी तीव्र पारिएको छ । धरान उपमहानगरपालिका, स्वीस बिकास नियोग र सुनसरी उधोग बाणिज्य संघ धरान सहयोगी रहेको महोत्सवको व्यवस्थापन तयारी तिव्ररुपमा अगाडि बढेको हो ।

सुनसरी उधोग बाणिज्य संघ धरानको सभाहालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको व्यवस्थापन हिमालयन एशोसियसनले जिम्मा लिएको बताइयो । महोत्सवमा धरानलाई प्रदेश नं. १ को चलचित्र नगरीका रूपमा विकास गर्ने चर्चित डकुमेण्ट्री फिल्म सुनाकलीदेखि द लास्ट हनि हण्टरसम्म र अल्ट्रा धाविका मिरा राईको विषयमा निर्मित फिल्म पनि प्रदर्शन हुनेछन् ।

कात्तिक २९ देखि मंसिर २ गतेसम्म धरान सभागृहमा हुने महोत्सवको पहिलो दिन तीन चलचित्र प्रदर्शन गर्ने कार्यक्रम तय भएको हिमालय एशोसियसनका प्रोजेक्ट कोअर्डिनटर राजेन्द्र रिमालले जानकारी दिनुभयो । रिमालका अनुसार पहिलो दिन बिट बियरले निर्देशन गरेको ५० मिनेटको स्वीस डकुमेण्ट्री स्वीस पशुपालक प्रदर्शन हुनेछ भने पहिलो दिनको दोस्रो शोमा निर्देशक बेन नाइटको ३५ मिनेट लामो डकुमेण्ट्री ‘द लास्ट हनी हण्टर’ पनि प्रदर्शन हुनेछ । कृषिमा आधारित जीवनशैली भएका पूर्वी नेपालको हुङ्गु उपत्यकामा बस्ने कुलुङ समुदायको कथा रहेको बताइएको छ ।

महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नु हुनेछ । उद्घाटन समारोहमा बिभिन्न जातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिनेछ । सन्थाल, मेचे, राजवंशी, ताजपुरियाजस्ता आदिवासीहरुको झाँकी प्रस्तुत गरिनेछ । जसका लागि तयारी तीव्र पारिएको छ । कात्तिक २९ गतेदेखि धरानस्थित सभागृहमा दर्जनौ चर्चित सिने कलाकार, चलचित्रकर्मीको उपस्थिति रहने सदस्य सचिव अरुण प्रधानले जानकारी दिनुभयो । आफ्नो ठाउँको गरिमाको रुपमा महोत्सव भएकाले पनि यसलाई सफल बनाउन प्रदेश १ का चलचित्रकर्मीहरु दिनरात लागिपरेको उपसमितिका संयोजक बिजय सुब्बाले बताउनुभयो ।

साथै, महोत्सवभरि चलचित्रकर्मीहरुसँग नेपाली चलचित्र र मोफसलसँगको सम्बन्ध, प्रदेशमा नेपाली फिल्मको चुनैती बिषयमा छलफल गरिने भएको छ । दर्शकका लागि प्रदर्शनमा रहने चलचित्र निःशूल्क गरिएको आयोजकले जनाएको छ । सो अवसरमा प्रदेश १ मा रहेर चलचित्र क्षेत्र र कला क्षेत्रलाई योगदान गर्ने १५ जना कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

यो महोत्सव प्रदेशकै गरिमासँग जोडिएको हुनाले यसलाई सफल बनाउन सबै प्रदेशबासी लाग्न आग्रह गर्दै महोत्सव सफल पार्न कुनै कसर बाँकी नराख्न समितिलाई निर्देशन उहाँले दिनुभएको छ । कुनै कारण महोत्सव असफल हुन नहुनेमा उहाँको जोड थियो । चार दिनसम्म चल्ने महोत्सवमा दैनिक ३ वटा फिल्म प्रदर्शन गरिने भएको छ ।

महोत्सव सफल पार्न प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईको अध्यक्षतमा निर्देशक समिति, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतमा मुल आयोजक समिति र प्रदेश सरकारका मुख्य सचिव सुरेश अधिकारीको संयोजकत्वमा व्यवस्थापन समिति रहेको छ भने महोत्सवलाई चलचित्रकर्मी महसंघ प्रदेश १ ले व्यवस्थापनमा सहयोग गरेको छ ।