न्युयोर्क (एजेन्सी) । गायक जस्टिन बिबर फेरि विवादमा तानिएका छन्। अमेरिकी गायिका टेलर स्विफ्टको गीतसम्बन्धी विषयमा संगीत प्रबन्धक स्कुटर ब्राउनको पक्ष लिएको भनेर उनी विवादमा तानिएका हुन्। गायक बिबरले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा गायिका स्विफ्टमाथि प्रश्न गरिएको समाचार पोस्ट गरेका थिए।

उनले इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेको समाचारमा लेखिएको थियो, ‘टेलर स्विफ्ट उनको गीत प्रस्तुत गर्न स्वतन्त्र छिन्। बिग मेसिनले उनलाई रोक्न सक्दैन्।’ सो समाचारको निष्कर्ष आगामी दिनमा कुनै कम्पनीले कलाकारलाई कानुनी अधिकारबारे प्रश्न गर्न पाउने छैन रु भन्ने थियो। गायक बिबरले सो पोस्ट गरेलगत्तै सामाजिक सञ्जालमा गायिका स्विफ्टका फ्यानहरु आक्रोशित भएका थिए।

यसअघि गायिका सेलेना गोमेज टेलर स्विफ्टको बचावमा उत्रिएकी थिइन्। उनले संगीत प्रबन्धक स्कुटर ब्राउनसँगको म्युजिक कपिराईटको लडाईका कारण गायिका टेलर स्विफ्ट ‘बिरामी र आक्रोशित’ भएको जनाएकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नी साथी गायिका स्विफ्टको पछिल्लो अवस्थाबारे गायिका गोमेजले जानकारी गराएकी थिइन्।

संगीत प्रबन्धक स्कुटर ब्राउनले गायिका स्विफ्टको गीतको क्याटलग खरिद गरेपछि उनको स्वरमा रहेको सबै गीतको कपिराईटको निम्ति वकिलसँग सहकार्य गरिरहेकी छिन्। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो।

जसले गायिका स्वीफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो। गायिका स्विफ्टलाई उनको स्वरमा रहेको पुरानो गीतहरू प्रस्तुत गर्न रोक लगाइएको छ। स्कुटर ब्राउन गायक बिबरका संगीत प्रबन्धक समेत हुन्।

गत वर्षमा गायिका स्विफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन्। उनको सांगीतिक यात्रालाई सम्मान गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ।