झापा । द भ्वाइस अफ नेपालका फाइनलिस्ट झापा दुई प्रतिभा विकास लिम्बू र राम लिम्बूले आज (बुधबार) गृह जिल्ला आएर घरेलु स्टेज तताएका छन् ।

हिमालयन टिभीको रियलिटी शो द भ्वाइस अफ नेपाल सिजन टु का अन्तिम चारमा परेका विकास लिम्बू अर्जुनधारा १ निवासी हुन् भने अर्का फाइनलिस्ट राम लिम्बू बिर्तामोड निवासी हुन् । दुवैको घरको दूरी करिब १० किलोमिटरमात्र छ ।

दुवै प्रतिभालाई आ-आफ्ना समर्थकले चन्द्रगढी विमानस्थल नै पुगेर स्वागत गरे । उनीहरुले आ-आफ्ना फाइनलिस्टलाई र्याली निकालेर विमानस्थलबाट गाउँघरको यात्रा गराए अनि केही स्थानमा समर्थकका लागि आयोजित कार्यक्रममा गीत गाए ।

शनिश्चरे बजारमा आयोजित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि लगायत समर्थकले विकास लिम्बूलाई स्वागत गरेका थिए । उनले त्यहाँ तीन वटा गीत प्रस्तुत गरे भने खुदुनाबारी बजारमा आयोजित कार्यक्रममा उनले २ वटा गीत प्रस्तुत गरे ।

राम लिम्बूले समर्थकका लागि बिर्तामोडको हनुमान सेन्ट्रल अगाडि आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिए । यसअघि उनले आफ्नो घरमा गएर परिवारसँग भेटघाट गरे । उनले आफू पहिला पढेको स्कुलमा पुग्न पनि भ्याए । समय अभावले गर्दा उनले बिर्तामोडमा मात्र प्रस्तुति दिए ।

भ्वाईस अफ नेपालले उनीहरुलाई गृह नगर परिक्रमा गराउने कार्यक्रम अन्तरगत आज झापा ल्याएको हो । उनीहरु आज साँझको उडानमा काठमाडौँ फर्किएका छन् ।

दुवै प्रतिभा यति एयरको उडानबाट १ बजे चन्द्रगढी विमानस्थल उत्रेका थिए । उनीहरुले एकअर्काप्रति आत्मीयता प्रदर्शन गर्दै समर्थकको मन जित्ने प्रयास गरे । दुवैले एकसाथ फोटो सुट पनि गराएका थिए ।

विकास लिम्बूका समर्थकले मोबाइलको म्यासेज बक्समा ०४ टाइप गरी ३७००० मा पठाएर भोट गर्न सकिन्छ भने राम लिम्बूलाई भोट गर्न म्यासेज बक्समा ०८ टाइप गरी ३७००० मा पठाउन सकिन्छ ।