उपेन्द्र येक्तेन,
पाँचथर । ‘महिनावारी हाम्रो भाग्यवारी’ भन्ने नाराका साथ पाँचथरको फिदिम नगरपालिकामा बिहीबार एक दिने महिनावारी मेला सम्पन्न भएको छ ।

महिलाहरुमा हुने महिनावारीप्रतिको अन्धविश्वासलाई हटाउने उद्देश्यले ‘परिवर्तनको सुरुवात’ नामक संस्थाले मेलाको आयोजना गरेको हो । महिनावारी हुनु अभिशाप नभइ भाग्य हो भन्ने सन्देश फैलाउन मेलाको आयोजना गरिएको संस्थाकी अध्यक्ष विविशा बुढाथोकीले बताउनु भयो ।

मेलामा महिलामा हुने महिनावारीसँग सम्बन्धित नौ वटा स्टल राखिएको थियो । मेलामा सहभागीहरुलाई महिनावारीको लक्षण, महिनावारी के हो ? महिनावारी किन र कसरी हुन्छ ? महिनावारी भएको बेला के खाने र महिलाको स्वास्थ्यको बारेमा जानकारी दिइएको थियो । महिनावारी भएको बेला प्याड प्रयोग गर्ने बारेमा समेत जानकारी दिइएको संस्थाकी सचिव दीक्षा थपलियाले बताउनुभयो ।

घर परिवारका सबै सदस्यहरुलाई महिनावारीको बारेमा जानकारी भएमात्र महिनावारीप्रतिको अन्धविश्वास हट्ने मान्यताको साथ मेलामा युवायुवती वृद्धवृद्धा, र विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

यो मेलाको लागि फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेको उज्यालो अनलाइनमा खबर छ ।