न्युशा राई ‘आश्मा’
नेपाली उखानै छ ‘साउनमा आँखा फुटेको गोरुले, सधैं हरियो देख्छ।’ यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि साउनलाई हाम्रो नेपाली उखानटुक्काले समेत हरियो रंगसँग जोडिदिएको छ। साउनको आफ्नै किसिमको महत्त्व छ। विशेषगरी हिन्दु धर्मावलम्बी नारीले यस महिनालाई वर्षकै विशेष महिनाको रूपमा लिने गर्छन्।

साउनमा नीलकण्ठ शिवजीलाई मान्ने गरिन्छ। प्रायः हिन्दु नारीलाई साउन भन्नेबित्तिकै दिमागमा हरियो चुरा र मेहेन्दीकै सम्झना आउँछ। यसैसँग जोडिएका कुरा, सोमबारको दिन व्रत बस्नु, लसुनप्याज खान नहुने, बोलबम जाने यस्ता यावत छन् अनि साउन भन्ने शब्दले यी सब कुरालाई इङ्गित गर्छ। बोलबम जाँदा पहेँलो रंगका कपडा लगाउनेको संख्या पनि अत्यधिक देख्न पाउँछौं।

हिन्दु नारीले साउनको सोमबार शिवजीको व्रत बस्ने गर्छन्। शिवजीको व्रत सोमबार बस्नुपर्छ भन्ने प्रचलन प्राचीनकालदेखि नै चलिआएको हो। तर साउनको सोमबार नै व्रत बस्ने प्रचलन भने पछि सुरु भएको हो भनेर केही हिन्दु धर्मावलम्बी महिलाले भन्ने गर्छन्।

मेहेन्दी लगाउने प्रचलन प्राचीनकालदेखि रहिआएको हो। मेहेन्दीको इतिहास नै पल्टाउने हो भने ९ हजार वर्षदेखि मेहेन्दीको प्रयोग भएको पाइन्छ। यसको सुरुवात मिश्र (इजिप्ट) बाट सुरु भएको हो। मिश्र सभ्यताको अन्तिम रानी क्लियोपैट्राबाट नै प्रयोगमा ल्याइएको भन्ने गरिन्छ।

भारतमा भने यसको प्रयोग बाह्रौं शताब्दीको मुगल सम्राज्यले सुरुवात गरेको पाइन्छ। तर भारतमा मेहेन्दीको अधिकतम प्रयोग भने बीसौं शताब्दीमा आएर भएको देखिन्छ। नेपालमा पनि प्रचुर मात्रामा यसको प्रयोग हुन थालेको केही दशकमात्र भएको विद्वानहरू बताउँछन्।

विभिन्न देशमा मेहेन्दीको फरक तरिकाले प्रयोग गरेको पाइन्छ। नेपाल र भारतमा भने महेन्दीको रंग हातमा गाढा बस्यो भने आफ्नो श्रीमान वा प्रेमीले गहिरो प्रेम गर्छ भन्ने मान्यता पनि छ।

मेहेन्दीले लेखिएका चिजहरू अजर रहने, ती कुराहरू लामो समयसम्म दिगो हुने भन्ने धारणासमेत छ। साउन महिनामा महिलाले मेहेन्दी लगाएमा विभिन्न रोगबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ।

आधुनिक युगमा, मेहेन्दी फेसन र मनोरञ्जनका लागि पनि प्रयोग हुन थालेको छ। मेहेन्दीको प्रयोग र लोकप्रियता बढेसँगै बजारमा केमिकल मिसाइएका नक्कली मेहेन्दीको बिगबिगी पनि छ। नक्कली मेहेन्दीले छाला सम्बन्धी रोग निम्त्याउने खतरा हुनसक्छ। कतिको त कपाल पनि झरेको पाइएको छ। साउनको विशेष महिनामा महिलावर्गले आफ्नो हातलाई मेहेन्दीको बुट्टाले रंगाउँदा मेहेन्दीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यक छ।

इतिहास हेर्ने हो भने चुराको प्रचलन पनि इजिप्टबाट सुरु भएको पाइन्छ। नेपालमा भने प्रचुर मात्रामा प्रयोग, भारतीय संस्कृति बजारबाट यसको प्रचलन भएको मान्न सकिन्छ।

मध्यकालमा हिन्दु संस्कृतिको विकाससँगै चुराको प्रयोग र महत्त्व सांस्कृतिक रूपमा प्रचलन र बजारीकरण भएको पाइन्छ। चुरा लगाउने प्रचलन एसिया, दक्षिण एसियाका अन्य केही मुलुकमा पनि नारीले आफ्नो श्रृंगार रूपमा चुरा लगाउने प्रचलन छ।

आधुनिक युगमा चुरा श्रृंगारको रूपमा नारीहरूले लगाउने प्रचलन भए पनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरूमा हरियो चुरा साउन महिनामै लगाउनुपर्ने देखिँदैन। संस्कृतिविद्हरू भन्न्छन् ‘धार्मिक रूपमा साउन महिनालक्षित गरी हरियो रंगको वर्णन गरिएता पनि चुराका बारेमा भने कहींकतै भेटिएको छैन।’

तर आजभोलि हाम्रो संस्कृतिलाई थप व्याख्या गरेर हरियो चुरा र हरियो वस्त्र लगाएर शिवजीको आराधना गरे विवाहित महिलाले श्रीमानको आयु बढ्ने र अविवाहित महिलाले आफूले खोजेजस्तो श्रीमान् पाइने विश्वाससाथ व्रत लिने चलन बढेको छ।

श्रृंगारका लागि मात्र नभएर भारतकै महाराष्ट्र प्रान्तमा गर्भवती स्त्रीलाई हरियो रङको चुरा लगाइदिने प्रचलन छ।

साउन महिनामा हरियो रंगलाई विशेष मानिन्छ। हरियो लुगाले प्रकृतिको सम्मान गरेको भन्ने महिलाहरू पनि पाइन्छ। त्यसैले यस महिनामा महिलाले हरियो चुरा, हरियो पोते, हरियो कपडा, हरियो टीका, हरियो पालिस मात्रै नभएर पहेँलो चुरा, पहेँलो कपडा जोडामिलाइ लगाएर प्रकृतिको सम्मान गरेको भन्नेहरू पनि छन्।

वर्तमान अवस्थासम्म आइपुग्दा केही त्यस्ता महिला पनि छन्। जसलाई मेहेन्दी लगाउन, चुरा लगाउन, व्रत बस्न मन पर्दैन। वैज्ञानिक तथ्यको आधारमा मात्रै विश्वास गर्ने केही महिलाको जमातले भने यी धार्मिक तथा सांस्कृतिक मूल्य र मान्यतालाई त्यति गम्भीरतापूर्वक नलिएको पनि यदाकदा पाइन्छ।

उनीहरू धार्मिक कथन वा धर्मग्रन्थमा भेटिएको कुरालाई भन्दा वैज्ञानिक आधार तथ्यप्रमाण खोज्ने गर्छन्। त्यसैले केही महिलाहरूले भने यस्ता संस्कृतिलाई निरन्तरता नदिएको पनि पाउन सकिन्छ।

हरेक व्यक्तिको व्यक्तिगत रुचि, इच्छा, चाहना र स्वतन्त्रताको कुरा पनि हुन्छ। सांस्कृतिक परम्परा अवलम्बन गर्ने निहुँमा, समाजले यस्ता किसिमका क्रियाकलाप गर्ने बाध्यात्मक बनाउनु न्यायसंगत हुँदैन।

कसैलाई मेहेन्दीको रंगले छालामा एलर्जी हुनसक्छ। कसैलाई चुराबाट निस्किने एकप्रकारको ध्वनिबाट एलर्जी हुनसक्छ। फेरि यसको मतलब यो होइन कि मेहेन्दी चुरा नलगाउने जति सबैलाई मेहेन्दीको रंग वा चुराको ध्वनिबाट एलर्जी हुन्छ। ती त सम्भावित कुराहरू मात्रै हुन्। हुनसक्छ कि भनेर।

नेपाल सांस्कृतिक सम्पदामा सम्पन्न देश हो। त्यस्ता सांस्कृतिक सम्पदाको सकारात्मक पक्ष सधैं उच्च सम्मानसाथ जगेडा गर्नुपर्दछ। कुरीतिसँग जोडिएका सांस्कृतिक पक्षलाई भने सकारात्मक ढंगबाट सुधार्दै लैजाउनुपर्छ।

संस्कृतिलाई जोगाउने हाम्रो कर्तव्य हो भने विकृति फैलन नदिनु हाम्रो दायित्व हो।