अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन् । विद्यालय सञ्चालन भएको महिना बित्न लाग्दा पनि दिवा खाजाबारे केही चासो दिइएको छैन ।

शिक्षाको अधिकारबारे स्थानीयलाई जानकारीसँगै जवाफदेही निकायलाई जिम्मेवार बनाउने उद्देश्यले मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त जिज्ञासा उठाएका हुन् ।

बुधबार भएको कार्यक्रममा सहभागी वक्ताहरुले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिइनुपर्ने दिवा खाजा तत्काल उपलब्ध गराउन माग गरेका थिए । नगरमा रहेका २८ वटा विद्यालय सञ्चालनमा आएको तर १० बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन नभएकाले दिवा खाजाको व्यवस्था हुन नसकेको नगर शिक्षा शाखाकी प्रतिनिधि समिरा दाहालले बताइन् ।

पूर्ण कक्षा सञ्चालन भएको खण्डमा तत्काल दिवा खाजाको व्यवस्था हुने बताएकी उनलाई सहभागीले बिहानी कक्षा र दिवा कक्षा सञ्चालन हुँदा पनि साना बालबालिकालाई भोक लाग्ने भन्दै शाखामार्फत सम्बन्धित सरोकारवाला निकायमा अभिभावकको माग राखिदिन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङले अभिभावकको माग जायज रहेको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजानका लागि आफूले माथिल्लो निकायमा कुरा राखेर तत्काल कार्यान्वयन गर्न र गराउन कटिवद्ध रहेको भन्दै प्रतिवद्धता व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोगमा आयोजित कार्यक्रममा नगर क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदीले पछिल्लो समय शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

भौतिक संरचना निर्माण हुनुका साथै प्रविधिमैत्री विद्यालय हुँदै गएको उनले सुनाए । साइन्स ल्याव, आइसीटी ल्याव, पुस्तकालय र शौचालयको व्यवस्थासँगै विद्यालय भवन निर्माण हुनु सकारात्मक पक्ष रहेको उनले बताए ।

गुणात्मकरुपमा ठुलै परिवर्तन भए पनि २०७४ सालमा जारी गरिएको ३०बुँदे शैक्षिक घोषणापत्र अनुसार भने काम हुन नसकेको उनको गुनासो छ । नगरपालिकाको ०७५/७६को वार्षिक नीति तथा कार्यक्रममा शैक्षिक घोषणापत्र समावेश भएर पनि कार्यान्वयन पक्षमा जनप्रतिनिधिले चासो नदिँदा भनेजस्तो हुन नसकेको उनले सुनाए ।

घोषणापत्रमा भूगोलका आधारमा पाठ्यक्रम बनाउने, संस्कारयुक्त पाठ्यक्रम बनाउने, आवासीय विद्यालयको व्यवस्था, स्रोतको व्यवस्थापनजस्ता कार्य गर्न नसकिए पनि सरकारी विद्यालयमा हतोत्साही हुनुपर्ने अवस्था नरहेको उनको दाबी छ ।
समूहका नगर संयोजक राजन साम्पाङले सहजीकरण गरेको कार्यक्रममा जवाफदेही निकायको रुपमा नगर सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङ, नगर शिक्षा शाखाका प्रतिनिधि समिरा दाहालले सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडा, सामाजिक अभियन्ता विष्णु आचार्य, विद्यार्थी दिक्षा सिटौलालगायतले जिज्ञासा राखेका थिए । नगरमा २८ वटा सामुदायिक विद्यालय, २९ वटा संस्थागत विद्यालय र ५ वटा धार्मिक विद्यालय रहेका छन् ।

समूहका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षता र सामाजिक विकास समितिका संयोजक गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य इन्सेक झापाका प्रतिनिधि नरेश खातीले व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका नगर संयोजक राजन साम्पाङले गरेका थिए ।