झापा । किरात साहित्यकार नरबहादुर लिम्बू (नवल फाइवाली)को १५औं कृति ‘अन्तिम यात्रा’को बिहीबार एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।

अर्जुनधारा–७ स्थित साहित्यकार फाइवालीको निवास स्थानमा परिवारका सदस्य हरिबहादुर लिम्बूको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला लेखक संघका पूर्व सचिव कुमार भट्टराई, साहित्यकार डबल केटी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का इञ्चार्ज दिपीन राई, पत्नी भीमकुमारी लिम्बू, दुर्गाबहादुर कटुवालले उक्त कृतिको संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

विगत ४१ वर्ष अघिदेखि आफ्नो लेखन यात्रालाई निरन्तरता दिने क्रममा जीवनको ७९औं वसन्तमा प्रवेश गरेका उनले विगतदेखि वर्तमानसम्म लेखिएका तीतो मिठो प्रकाशित र अप्रकाशित लेखहरुलाई सँगालेर एउटा पुस्तकको आकार दिने चाहना बमोजिम उक्त कृति तयार भएको साहित्यकार फाइवालीले बताए । शारीरीक अवस्थाका कारण लेखन यात्रालाई आगामी दिनमा निरन्तरता दिन नसक्नेतर्फ संकेत गर्दै कृति प्रकाशनको लागि सम्पादन र प्रकाशनको जिम्मेवारी लिई सहयोग गरेका साहित्यकार कृष्णकुमार थेवे (डबल केटी)लाई उनले कृतिमार्फत् आभार प्रकट गरेका छन् ।

एक सय ५० पृष्ठको कृतिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित र अप्रकाशित गरि जम्मा ३४ वटा लेख समेटिएको छ । साहित्यकार फाइवालीको यसअघि प्रकाशित कृतिहरुमा अन्यायको हार-२०३६, संक्षिप्त खस लिम्बू शब्दकोष, प्रथम संस्करण-२०४९, किरात ऐतिहासिक सवाई-२०५०, लिम्बू नामाकरण (याक्थुङ मिङवान)-२०५०, पालम (लिम्बू भाषामा)-२०५०, किरातसम्बन्धी सामान्य ज्ञान-२०५२, बलिहाङ तङनाम र लारिङगे (लिम्बू/खस)-२०५३ रहेका छन् ।

त्यसैगरी अन्य कृतिहरुमा ४० जातिको आदिवासी जनजाति संक्षिप्त परिचय-२०५६, बौद्धिक ज्ञानका अमर विचारहरु-२०५७, राष्ट्रिय जनगणना सम्बन्धी दिग्दर्शन-२०५७, मुक्पान सुम् (लिम्बू उखान)-२०६१, राष्ट्रका एक सपुत र ज्ञात अज्ञात शहीदहरुको तथ्याङ्क गाथा-२०६१, अन्यायको हार (दोस्रो संस्करण)-२०६९ र नानु खदेम (लिम्बू भाषा प्रकाशित पुस्तक)-२०६९ रहेका छन् ।