फाइल तस्वीर ।

काठमाण्डौ । यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

शिक्षा पत्रकार सञ्जाल (ईजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभयो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।

‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै-कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौँ’, बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो ।

यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।

‘गएको वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुपर्‍यो र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो ।