काठमाडौँ । लोकप्रिय नायिका स्वस्तिमा खड्का अब नाटकमा देखिने भएकी छन्। स्वस्तिमा पत्रकार नारायण वाग्लेको चर्चित उपन्यास पल्पसा क्याफेमा आधारित रहेर सोही नाममा मञ्चन हुने नाटकबाट स्वस्तिमाले डेब्यु गर्न लागेकी हुन्।

अनामनगरको मण्डला थिएटरमा आयोजित कार्यक्रममा यससम्बन्धी जानकारी गराइएको हो। नाटकमा स्वस्तिमा पल्पसाको भूमिकामा देखिनेछिन्। उनले नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच रहेको र यसै समयमा पल्पसा बन्ने प्रस्ताव आएकाले सहर्ष स्वीकारेको कार्यक्रममा बताइन्। पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी गरिरहेको स्वस्तिमाले बताइन्।

‘अहिले हामी यसको वर्कसप गरिरहेका छौं। यो चरित्रमा धेरै अपेक्षा छ। त्यो अपेक्षा पूरा गर्ने गरी मेहनत गरिरहेको छुु’, उनले कार्यक्रममा भनिन्। पुस्तक प्रकाशन भएको १५ वर्ष नाघिसकेको छ। वाग्लेले यस बीचमा पल्पसा क्याफेको सिक्वेल चाहियो भन्ने धेरै पाठक पनि भेटेका छन्।

यस सम्बन्धमा वाग्लेको भनाइ थियो, ‘पल्पसा क्याफे मेरो पहिलो प्रेमपत्र हो। पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ, त्यो दोहोर्याएर लेख्न सकिन्नँ। किनकि दोस्रो कहिलै पहिलो हुन्न।’ पल्पसा क्याफे चाँडै नै उपन्यासबाट नाटकमा रूपान्तरित हुँदैछ। निर्देशक विमल सुवेदीले यसको नाट्य रूपान्तरण गरिरहेका छन्।

लेखक वाग्लले १५ वर्षपछि पनि उपन्यास आलो रहेको बताए। ‘केही दिनअघि नेकपाका नेताले शाकाहारी हैन मांसाहारी आन्दोलन गर्नुपर्यो भनेर भाषणा गर्नुभयो। मांसाहारी आन्दोलनको घाउ अझै खाटा बसेको छैन’, वाग्लेले भने, ‘यसले पनि उपन्यास अझै सान्दर्भिक छ कि भन्ने जस्तो लाग्यो।’

वाग्लेले यसअघि पनि आफ्नो उपन्यास नाटक वा फिल्मका लागि मागिएको भए पनि दिन मन नलागेको स्मरण गरे। तर, निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भएपछि नाट्य रूपान्तरणका लागि अनुमति दिएको उनले बताए।

‘उहाँले स्क्रिप्ट पढ्न दिनुभएको थियो। जुन मैले आजसम्म पनि यत्तिकै राखेको छु। नाटकमा जुन पल्पसा आउँछ त्यो निर्देशकको कल्पना हो। मैले पढें भने त्यो कल्पनामा खलल पुर्याउला भनेर पढिनँ। म पनि नाटक हेर्न उत्सुक छुु’, उनको भनाइ थियो।

मकैको अर्कै खेती, सान्दाजुको महाभारत, साबितीजस्ता नाटक निर्देशन गरेका विमल सुवेदीले दुई वर्षअघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्वसम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रूपान्तरण गर्न कस्सिएको बताए। ‘बिहान घरबाट निस्किएको मान्छे बेलुका फर्कन्छ भन्ने आसमा परिवार हुन्छ। तर, कति परिवार पर्खेको पर्खै हुन्छ’, सुवेदीले भने– ‘यही फुटप्रिन्टको प्रतीक्षामा बस्ने परिवारको आँखा सम्झेर यसलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं।’

सुवेदीले लेखनका क्रममा धेरै दृष्टिकोणमा काम गरेको र तयार हुँदै गरेको नाटक पल्पसाको हजुरआमाको दृष्टिकोणबाट प्रस्तुत गर्ने निक्र्योल गरेको बताए। थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आगामी चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ।

नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ। सुरज सुवेदीले उपन्यासलाई नाटकमा रूपान्तरण गरेका हुन्।