प्रकाश नेपाल,
इलाम । चलचित्र छायांकनको लागि अब्बल मानिएको इलाममा लामो समयपछि चलचित्र छायांकन पुनः सुरु भएको छ । कोभिड–१९ का कारण चलचित्र क्षेत्र प्रभावित भएपछि सुनसान देखिएका इलामका पर्यटकीय क्षेत्रमा चलचित्रको छायांकन हुँदा यस क्षेत्रको रौनक नै बेग्लै देखिएको छ ।

कोरोनाका कारण लामो समय सुनसान रहेको इलामको चियाबगान, पानीटार, कन्याम, अन्तुलगायतका स्थानमा अहिले पर्यटकको चहलपहल बढेको छ । हराभरा चियाबारीसहित सुन्दर प्राकृतिक छटाबीच चलचित्र छायांकन हुँदा पर्यटन विकासले समेत फट्को मार्दै गएको छ ।

गीत र चलचित्रको छायांकनका लागि सुन्दर ठाउँ भएकाले इलामलाई रोजेको चलचित्रकर्मी बताउँछन् । ‘कृष्णलिला’ चलचित्र निर्माणका लागि पुगेका निर्देशक दिपक ओलीले आफ्नो चलचित्रको लागि गाउँले परिवेशको सुन्दर स्थान आवश्यक भएकाले इलामलाई रोजेको बताउनुभयो ।

‘नोटबुक’, ‘आप्पा’, ‘प्रेम दिवस’, ‘लभ स्टेसन’, ‘क्याप्टेन’, ‘म यस्तो गीत गाउँछु २’ लगायतका थुप्रै चलचित्रमा इलामको सुन्दरतालाई कैद गरिएका छन् । चलचित्रको पर्दामार्फत कैद भएका प्राकृतिक मनोरमको दृश्यले देश–विदेशमा समेत चर्चा कमाएको छ । इलाम चलचित्र छायांकनको हव बन्दा स्थानीय त दङ्ग छन् नै कलाकारहरू पनि नयाँ ठाउँ घुम्न पाउँदा खुसी देखिएका छन् ।

आफूले भिडियो र चलचित्रमा देखेको ठाउँमा आउन पाउँदा निकै खुसी लागेको नायक पुष्प खड्का बताउनुहुन्छ । ‘पहिला अलि तलसम्म आएको थिएँ,’ उहाँले भन्नुभयो, ‘माथि आउँदा एकदमै रमाइलो लाग्यो, ठाउँ पनि अन्यन्तै सुन्दर र रमाइलो रैछ ।’

चलचित्र मार्फत कुनै पनि स्थानको पर्यटन प्रवर्धनमा सहयोग पुग्नुका साथै त्यस ठाउँको रौनकता नै बढाइरहेको हुन्छ । चलचित्र निर्माण टोलीले इलामलाई प्राकृतिक स्टुडियोको रूपमा प्रयोग गर्न थालेपछि स्थानीय सरकार, स्थानीयवासी लगायत सरोकारवालाले आवश्यक पूर्वाधार विकासमा पनि ध्यान दिन आवश्यक छ ।