झापा । पछिल्लो समय झापा चलचित्र छायांकनको हटस्पट बन्दै गएको छ ।

एक महिनाको अन्तरमा ठूलो पर्दाको दुईवटा चलचित्रहरुको छायांकन सम्पन्न भइसकेको छ । त्यस्तै सोमबारबाट झापाको अर्जुनधारा वडा नं ६ मा ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’ नामक हास्य टेली सिरियलको छायांकन शुरु भएको हो ।

द मानस क्रिएसन प्रालिको ब्यानरमा सो टेली सिरियल छायांकनको शुभ मुहुर्त गरिएको छ । हरेक महिनाको शनिबार सो टेली सिरियल प्रसारण हुनेछ । टेली श्रृङखलाको प्रस्तुतकर्ता केशव वैरागी माइलो रहेका छन् । त्यसैगरी टेली श्रृङखलाको निर्देशन हिमाली लिङ्देनले गरेकी छिन् ।

टेली श्रृङखलामा संगीत विकास चौधरी, कथा तथा पटकथा बिरु गुरुङ, सम्पादन तिलक रिजाल, गीत केशव वैरागी माईलो, निर्माता धर्मेन्द्र तिम्सिना र छायांकन विक्रम डिसीले गरेका छन् ।

टेली चलचित्रमा विक्रम धिमाल, कृष्ण तामाङ, मौसम भट्टराई, निसा आचार्य, रेनु भट्टराई, दिप्सन पौड्याल,महाप्रसाद कोईराला,गजेन्द्र तामाङ आदि कलाकारहरु रहेका छन । हास्यप्रधान टेली चलचित्रमा नेपाली समाजमा घटेका घट्नाहरुलाई हास्य व्यङग्यमार्फत प्रस्तुत गरिने जनाइएको छ ।

टेली चलचित्रमा अन्य राष्ट्रिय रुपमा ख्याती कमाएका कलाकारहरुको समेत प्रस्तुति रहने कलाकार भुपेन्द्र लिङ्देन मन्त्रीले बताए । चलचित्रको शुभ मुहुर्त अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि तथा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले गरेका थिए ।