अर्जुनधारा । महाशिवरात्रीको अवसरमा आयोजित प्रदेश १ स्तरीय एकल शिव ताण्डव नृत्य प्रतियोगिताको उपाधि मनिसा बस्नेतले जितेकी छन् ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा-७ स्थित अर्जुनधारा जलेश्वर धाममा आयोजित एक साँझ शिवका माझ कार्यक्रममा एकल शिव भजन गायन प्रतियोगिताको उपाधि भने प्रशान्त पोखरेलले हात पारे । एकल शिव ताण्डव नृत्य प्रतियोगितामा दोस्रो प्रितम सम्वाहाम्फे, तेश्रो दिपेश राई र सान्त्वना आकृति तामाङ र दृष्टि मित्तल भए ।

ताण्डव नृत्यु जितेकी बस्नेतले ५१ हजार रुपैयाँ र प्रमाणपत्र, दोस्रो सम्वाहाम्फेले ३१ हजार रुपैयाँ र प्रमाण पत्र, तेश्रो राईले २१ हजार रुपैयाँ र प्रमाण पत्र र सान्त्वना तामाङ र मित्तलले जनही पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे ।

एकल शिव ताण्डव नृत्य प्रतियोगितामा शास्त्रीय नृत्य प्रशिक्षक विणा जोशी र प्रेम विकले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने प्रतियोगिताको संयोजकमा नृत्य निर्देशक सुनिल थापा रहेका थिए ।

त्यसैगरी एकल शिव भजन गायन प्रतियोगितामा दोस्रो कृपा पौडेल, तेश्रो सञ्जीवनी पौड्याल र सान्त्वना सरगम तिवारी र भक्त विश्वकर्मा भए ।

भजन गायन जितेकी पोखरेलले ३१ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । उनलाई सनलाइट म्युजिक स्टुडियो एण्ड स्कूल बिर्तामोडले एक वर्षसम्म निःशुल्क गायन र एउटा गीत रेकर्डिङको सुविधा प्रदान गर्न सञ्चालक कृष्ण योञ्जनले घोषणा गरे ।

त्यस्तै प्रतियोगितामा दोस्रो पौडेलले २१ हजार रुपैयाँ र प्रमाण पत्र, तेश्रो पौड्यालले ११ हजार रुपैयाँ र प्रमाणपत्र र सान्त्वना तिवारी र विश्वकर्माले जनही दुई हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे ।

एकल शिव भजन गायन प्रतियोगितामा गायक तथा संगीतकार दुर्गा खरेल र शास्त्रीय गायीका तथा संगीतकार लावोनी चक्रवर्ती प्रसाईंले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने प्रतियोगिताको संयोजकमा संगीतगुरु कृष्ण योञ्जन र दिपक रायमाझी रहेका थिए ।

एकल शिव भजन गायन प्रतियोगिता र एकल शिव ताण्डव नृत्य प्रतियोगिताको अडिसनबाट छनौट गरिएका १० जनालाई फाइनल प्रतिष्पर्धामा समावेश गरिएको थियो ।

अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता तथा गायक तथा संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शास्त्रीय नृत्य प्रशिक्षक प्रेम विकले शिव ताण्डव नृत्य र शास्त्रीय गायीका तथा संगीतकार लावोनी चक्रवर्ती प्रसाईंले शिव भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन रेडियो विराटकी प्रवन्ध निर्देशक लिला अनमोल र सञ्चारकर्मी उर्मिला दाहालले गरेकी थिइन् ।