मिस इको इन्टरनेसनल नेपाल अनुस्मा रायमाझीले इजिप्टमा सम्पन्न मिस इको इन्टरनेसनल-२०२१ मा मिस इको एसिया टाइटल जितेकी छिन्।

प्रतियोगितामा शीर्षपछि सबैभन्दा महवपूर्ण मानिएको यो उपाधि नेपाल भित्रिनु राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि भएको उनले दाबी गरिन्। प्रतियोगितामार्फत आफूले देशलाई समेत चिनाउन सफल भएको उनको भनाइ थियो। ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलावा विभिन्न कला संस्कृतिले भरिएको राष्ट्रका रूपमा चिनाएँ’, रायमाझीले भनिन्।

राजधानीमा आयोजित भेटघाट कार्यक्रममा पूर्वमिस इको इन्टरनेसनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले मिस इको एसिया ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्।

मिस इको इन्टरनेसनल नेपाल-२०१८ की विजेता मौनता लामाले समेत प्रतियोगिताको विषयमा आफ्नो धारणा राखेको कार्यक्रममा मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले रायमाझीलाई बधाइ ज्ञापन गरेको थियो। विभिन्न ६० बढी देशका इको सुन्दरीको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन्। प्रतियोगिताका लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन्। मिस इको इन्टरनेसनल अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो। प्रतियोगिता एलटीसीपी अर्गनाइजेसनले ब्युटी फर इको जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि शुरू गरेको हो।